पर्यटक आमन्त्रण गर्दै भूकम्पपछि खुल्ला विश्व सम्पदा सूचीका सम्पदा

सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा खुला गरेको छ । पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण क्षेत्र भूकम्पले क्षतिग्रस्त बनेकोमा चाँगुनारायण क्षेत्रबाहेकका अन्य सम्पदा आजदेखि खुला गरिएको हो । लगभग ५२ दिनको अन्तरालसम्म सम्पदा क्षेत्रहरू भूकम्पले क्षति पारेका कारण सुरक्षाका कारण पर्यटकका लागि खुला नगरिएकोमा आजदेखि खुला भएका सम्पदा क्षेत्रमा विस्तारै पर्यटकहरूको चहलपहल बढ्ने अनुमान गरिएको छ । सम्पदा क्षेत्र खुला गर्न आज भक्तपुरमा आयोजित समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले भूकम्पका कारण सांस्कृतिक धरोहरमा केही क्षति भए पनि तिनीहरूलाई पूर्ववत् स्वरूपमा निर्माण गर्न सरकार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । “भूकम्पका कारण सम्पदा क्षेत्रमा भएका क्षतिलाई पुनःनिर्माणका माध्यमबाट पूर्ववत् अवस्थामा ल्याउनुपर्छ । नेपालको समग्र पर्यटकीय विकासका लागि सरोकारवाला निकायबीच कार्यगत एकता हुनु अपरिहार्य छ ।” – उहाँले भन्नुभयो । सम्पदा क्षेत्रमा केही मात्रामा क्षति भए पनि यसको पुनःनिर्माणलाई उच्च प्राथमिकताका साथ बढाउँदै नेपालको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने सभासद् प्रेम सुवालको तर्क छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भूकम्पका कारण लगभग ५२ दिनसम्म सम्पदा क्षेत्रमा पर्यटकलाई अवलोकन गराउन नसकिएको अवस्थामा भूकम्पको त्रासबाट मानव जीवनलाई सामान्यीकरण गर्ने कुरामा पनि सम्पदा क्षेत्र खुला गरिनु आवश्यक रहेको बताउनुभयो । पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भन्नुभयो –“ भूकम्पपछिको लामो समय नेपालका सम्पदा क्षेत्रको अवलोकन गराउन सकिएको थिएन । भूकम्प यता नेपालको पर्यटन लगभग शुन्यः भएको थियो । आजदेखि खुलेका सम्पदा क्षेत्रले पर्यटन क्षेत्रलाई विस्तारै क्रियाशील बनाउने छ ।” पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नेपालका सांस्कृतिक सम्पदामा केही मात्रामा क्षति भए पनि पूरै क्षति नभएको बताउनुभयो । सम्पदा क्षेत्र खुला गरिएको छ । सांस्कृतिक रूपमा नेपाल सुरक्षित छ भन्ने भन्ने सन्देश प्रवाह गर्नु आवश्यक छ ।” – उहाँले भन्नुभयो । नेपालमा भूकम्पले सम्पदामा क्षति पारेको कुरा अहिले मात्रै भने होइन । भूगर्भशास्त्रीहरूका अनुसार नेपाल भूकम्पको अत्यन्त जोखिमपूर्ण क्षेत्र भए पनि यहाँ भूकम्प गएको इतिहास विसं १३१० देखिमात्र पाइन्छ । इतिहासविद् प्राडा राजाराम सुवेदी विसं १३१० यता विभिन्न समयमा गएका भूकम्पबारे चर्चा गरिए पनि त्यसअघिका भूकम्प सम्बन्धमा कुनै अभिलेख नभएको बताउनुहुन्छ । तत्कालीन राजा अभय मल्लको सो भूकम्पमा निधन भएको थियो । धेरै जनधनको समेत क्षति भयो । तत्कालीन समयमा सांस्कृतिक सम्पदाहरूको कति क्षति भयो भन्ने यकिन तथ्य फेला परेको छैन । नेपालमा विसं १३१६ र १३४६ मा पनि ठूला ठूला भूकम्प गएको पाइन्छ । १३१६ को भूकम्पमा पनि धेरै जनधनको क्षति भएको र १३४६ मा काठमाडौँ महेन्द्रनाथको देवललगायत धेरै मठमन्दिर भग्नावशेषमा परिणत भएका थिए । त्यसपछि विसं १७३७ र १८८० मा ठूला ठूला भूकम्पको पीडा नेपालीले भोग्नुप¥यो । तत्कालीन अवस्थामा जनधनको धेरै क्षति भएपनि सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू कति विनास भए भन्ने अभिलेख भेटिँदैन । त्यस्तै विसं १८९० मा गएको ठूलो भूकम्पले भिमसेन थापाले बनाएको धरहरा, थुप्रै दरबार र भादगाउँ क्षेत्रका धेरै मन्दिरहरूलाई क्षति पु¥याएको थियो । भिमसेन थापाले विसं १८८४ तिर हालको बागदरबार नजिकै (हालको धरहराभन्दा २०० मिटर पर) बनाएको ११ तले भिमसेनस्तम्भ छ वर्षकै अन्तरालमा ढलेको इतिहासविद् सुवेदीको भनाइ छ । विसं १९९० को भूकम्पले नेपालका सम्पदा क्षेत्रमा ठूलै क्षति पु¥यायो । त्यसले काठमाडौँमा विसं १६२१ मा बनेको तलेजु मन्दिर विसं १७२७ मा बनेको प्रताप स्तम्भ, महेन्द्र मल्लको पालामा विसं १६२१ मा बनेको काठमाडौं महादेव, जगत मल्लको पालामा बनेको महाविष्णु मन्दिर, पृथ्वीनारायण शाहको पालामा बनेको बसन्तपुर दरबार र रानीपोखरीको प्रताप मल्लले बनाएको शालिक क्षतिग्रस्त भयो । पाटनमा शिवसिंह मल्लको समयमा बनेको देगुतलेजु, योगमतीको समयमा बनेको बनेको च्यासिंगदेवल, कृष्ण मन्दिर, पाटनको महावौद्ध, विशेश्वर महादेव मन्दिर, कुम्भेश्वर, मच्छिन्द्रनाथ जस्ता धेरै सम्पदा ध्वस्त भएकोमा पछि पुनः निर्माण गर्ने काम गरियो । भक्तपुरको पुरानो दरबार, ५५ झ्याले दरबार, कृष्ण मन्दिर, यक्ष मल्लले बनाएको शिव मन्दिर, भूपतिन्द्र मल्लले बनाएको भैरव मन्दिर, बाराही मन्दिर ध्वस्त भए जसलाई पछि पुननिर्माण गरियो । यस वर्षको भूकम्पले मध्यकालीन वास्तुकलामा प्रसिद्ध हनुमानढोका दरबारभित्रका १६ औँ र १७ औँ शताब्दीका माजुदेग, त्रैलोक्यमोहन, काष्ठमण्डप, विष्णु मन्दिर र कृष्ण मन्दिर भूकम्पले क्षतिग्रस्त बनाएको छ । दरबार क्षेत्रभित्रका मोहनकाली चोक र सुन्दरी चोकतर्फका भागहरू भत्केका छन् । नासल चोकको पश्चिम दक्षिण लोंह चोकको केही भाग भत्केको छ । यसभित्रका भक्तपुर र काठमाडौँ टावर पूर्णरूपमा भत्केका छन् । ललितपुर र कीर्तिपुर टावर आंशिक भत्केका छन् । पाटन दरबार क्षेत्रका सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले भरिएका चारनारायण, शंकर नारायण मन्दिर र मणिमण्डप भत्केका छन् । पाटनमा प्रस्तरकलाका अनुपमस्थलहरू कृष्ण मन्दिर र राधाकृष्ण मन्दिर नाजुक अवस्थामा पुगेका छन् । हरिशंकर मन्दिर, चारनारायण मन्दिर, मच्छिन्द्रनाथको जात्राका लागि साइत निकाल्ने पाटी(सोह्खुट्टे पाटी) भूकम्पले क्षतिग्रस्त बनाएको छ । भक्तपुर दरबार क्षेत्रका वत्सला, केदारनाथ मन्दिर, तवसत्तल, पूर्वेश्वर महादेव, शिव मन्दिर, शिलु महादेव, भैरवनाथको पार्टी र लाल बैठक नष्ट भएको छ । अन्य संरचना आंशिक रूपमा क्षतिग्रस्त छन् । स्वयम्भूमा अनन्तपुर, कर्मराज महाविहार, देवधर्म महाविहार र तिव्वतीय छोर्तेन क्षतिग्रस्त छन् भने पुरातात्विक महत्वका हयगृव भैरव मन्दिर, बुङमतिको रातो मच्छिन्द्रनाथको मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरहरूलाई यस पटकको भूकम्पले बाँकी राखेन ।