लोडसेडिंगविरुद्ध अनसन बस्नेसँग पाँच बुँदे सम्झौता

नियमित विद्युत् आपूर्तिको माग गर्दै आमरण अनसनमा बसेका उद्योग वाणिज्य सङ्घका पदाधिकारी र विद्युत् प्राधिकरणबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले, ऊर्जा मन्त्रालयका सहसचिव रुद्रप्रसाद सिटौला र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले संयुक्तरुपमा अनशनकारीलाई जुस खुवाएर अनशन तोडाउनुभयो । सङ्घ र प्राधिकारणबीच भएको पाँचबुँदे सहमतिमा १५ दिनभित्र ढल्केवर सवस्टेसनमा केन्द्रीय प्रशारण लाइन जोडिने, ढल्केवर–मुजेलिया प्रसारण लाइनलाई आव २०७२÷७३ बजेट विनियोजनमा कन्डक्टर अपग्रेडिङको कार्य सुरु गर्नुपर्नेलगायत छन् । माग पूरा गराउन बुधबारदेखि जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह, सचिव सुरेन्द्र भण्डारी, सदस्य फुलदेव पण्डितलगायत आमरण अनशनमा बस्नुभएको थियो । यसैबीच, सङ्घले फोहरको कारण जनकपुरमा फैलिएको लामखुट्टे नियन्त्रणका लागि नगर सफाइ गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । जनकपुर उपमहानगरपालिकासँग लामखुट्टे नियन्त्रणका लागि दश दिनभित्र औषधि छर्कनुपर्ने सहमति भएको छ ।