संविधान र भूकम्प पीडितको पुनस्र्थापना देशको आवश्यकता : प्रचण्ड

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति स्थिरतातर्फ अग्रसर भएको छ । अध्यक्ष दाहालले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्ति सन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरूले समझदारीको वास्तविकता बुझेका छैनन् भन्नुभयो । यो समझदारीलाई सत्ता समीकरणका रूपमा अपव्याख्या गर्न नहुने बताउँदै उहाँले तर, कुनै पनि राजनीतिक समीकरण स्थायी हुँदैन परिस्थितिअनुसार फेरबदल हुन्छ भन्नुभयो । “आप्mनो दलको सैद्धान्तिक अडान त पहिचानसहितको १० प्रदेश हो, संसदीय व्यवस्था नमान्ने नै हो, प्रत्यक्ष राष्ट्रपति निर्वाचन नै हो, तर मुलुकको वर्तमान राजनीतिक विशिष्ट परिस्थितिमा समझदारीमा जानुको विकल्प थिएन” – उहाँको स्पष्टोक्ति थियो । समझदारीपछि असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास हुने बताउँदै उहाँले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा टिप्पणी गर्नुलाई सान्दर्भिक मान्न सकिँदैन भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशी जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनको माग भएकाले यसमा आफ्नो दलले कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।सहमतिका आधारमा संविधान निर्माण र विनाशकारी भूकम्पबाट प्रभावितको पुनःस्थापना मुलुकको प्रमुख प्राथमिकताको विषय भएको भन्दै उहाँले बलियो राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको धारणा राख्नु भयो ।