उपत्यका संकटग्रस्त क्षेत्र घोषित, एनआरएन अध्यक्ष घले सद्भावना दूत (मन्त्रिपरिषद्का निर्णयसहित)


???????????????????????????????भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर भत्काउन थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दैवी प्रकोप उद्धार ऐन, २०३९ बमोजिम जोखिममा रहेका घर भत्काउने प्रयोजनका लागिमात्र तीन जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले स्थापना गरेको रु दुई खर्बको राष्ट्रिय पुनःनिर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन गैरनेपाली आवासीय सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना विशेष दूतका रूपमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री डा रिजालले बताउनुभयो । बैठकले रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई रु ३० हजार, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई रु २५ हजार, प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई जनही रु २२ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ । त्यस्तै सरकारले महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालयमा रिक्त विशिष्ट श्रेणीको रिक्त पदमा क्रमशः राजेन्द्र नेपाल र केदारबहादुर अधिकारीलाई कायममुकाय नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति गठन गर्ने निर्णय गरेको मन्त्री डा रिजालले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]