आजबाट सम्पदा क्षेत्र विदेशीका लागि पनि खुल्ला गर्ने सरकारी तयारी


patanसरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा आजदेखि खुला गरेको छ । पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथलगायत क्षेत्र भूकम्पपछि पर्यटकको सुरक्षाका लागि बन्द गरिएको थियो । सम्पदा क्षेत्र खुलाउन विगत केही समययता सम्पदा क्षेत्र परिसरमा सरसफाइलगायत कार्यलाई तीव्र बनाइएको जानकारी गराउँदै पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ती क्षेत्र भोलिदेखि पर्यटकका लागि खुला गर्ने तयारी गरिएको बताउनुभयो । “हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ क्षेत्रमा सरसफाइलगायत काम सकिएको छ । ती स्थानमा पर्यटकलाई सुरक्षित अवलोकन गराउने व्यवस्था गरिएको छ । चाँगुनारायण क्षेत्रमा भने सरसफाइलगायतका कामहरु भइरहेका कारण केही दिनमा नै त्यो क्षेत्र पनि पर्यटकका लागि खुलाइनेछ”– उहाँले भन्नुभयो । सम्पदा क्षेत्र खुला हुने भएसँगै विगत केही समययता प्रभावित भएको नेपालको पर्यटन क्षेत्र केही दिनमा नै सकारात्मक मार्गमा उन्मुख हुने पर्यटन सम्बद्ध व्यवसायीहरु बताउँछन् । विशेषगरी विदेशी पर्यटक नेपालको सम्पदा क्षेत्र भ्रमण गर्न लोभिने गरेका कारण सम्पदा क्षेत्र खुला गरिनु पर्यटन क्षेत्रका लागि खुसीको कुरा भएको पर्यटन व्यवसायी एवम् यति एड्भेन्चर टुर एण्ड ट्राभल्स, सुन्धाराका प्रोपाइटर सविन आचार्यले जानकारी गराउनुभयो । “भूकम्पले तहसनहस पारेको नेपालको पर्यटकीय क्षेत्र चाँडै नै पूर्ववत् अवस्थामा आउने विश्वास गरेका छौँ । भत्किएका पुरातात्विक सम्पदा पुरानै स्वरुपमा निर्माण गर्नेतर्फ सरकार तत्काल लाग्नुपर्छ, यिनै सम्पदालगायतबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण सहयोग पुगेको कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ”– उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]