संविधान बनेपछि काँग्रेसको राष्ट्रपति, एमालेको प्रधानमन्त्री र एमाओवादीको सभामुख ?

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमासञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गर्नुभयो । साथ गच्छदारले १६ बुँदे सहमतिसँगै पावर शेयरिंगको कुरा पनि प्राथमिकताका साथ उठेको र अनौपचारिक सहमतिमा राष्ट्रपति काँग्रेसलाई, प्रधानमन्त्री एमालेलाई र सभामुख र उपराष्ट्रपतिमध्ये एक एक एमाओवादी र आफ्नो पार्टीलाई भागवण्डा गरिएको पनि बताउनुभयो । उहाँले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताउनुभयो । राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको उल्लेख गर्दै उहाँले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई आग्रह गर्नुभयो ।