पद्मसुन्दर लावतीको पशुपतिमा अन्त्येष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई श्रद्धाञ्जलि दिन सभामुख सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला तथा विभिन्न दलका नेतागण, सभासद्लगायत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी, आफन्त तथा शुभेच्छुकले पनि उहाँको पार्थीव शरीरमा श्रद्धाञ्जलि दिएका थिए । यही जेठ २७ गते नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएका ७६ वर्षीय लावतीको पार्थीव शरीरलाई ग्वार्कोस्थित निवासमा धार्मिक परम्पराअनुसार पूजा गरी शवयात्रा सहित पशुपति आर्यघाट पु¥याइ दाहसंस्कार गरिएको थियो । उहाँ विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै १२ पटक मन्त्री हुनुभएको थियो । सो पार्टीका महामन्त्री रामु राईले उहाँको निधनबाट देशले राष्ट्रवादी नेता गुमाउन परेको र लावतीको सम्मानमा १३ दिन सम्म पार्टीको झण्डा आधा झुकाउने र १३ औँ दिनका दिन श्रद्धाञ्जलि एवम् शोकसभा गरिने जानकारी दिनुभयो । अन्त्येष्टिमा सशस्त्र प्रहरीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । लावतीका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।