सोह्र जिल्लाका बस्तीमा पहिराको जोखिम अध्ययन गर्न भूगर्भविद्


Taplejung2भूकम्पले जमिन धाँजा फाटी पहिराको जोखिममा रहेका १६ जिल्लामा खानी तथा भूगर्भ विभागले सभासद्को संयोजकत्वमा गठन भएको बस्ती स्थानान्तरण समिति मातहत रही अध्ययन गर्न भूगर्भविद् खटाएको छ । लमजुङ, गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, तनहुँ, खोटाङ र ललितपुरमा भूगर्भविद् खटाइएको छ । विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले भन्नुभयो, “काठमाडौँको शङ्करापुर नगरपालिकाको नाङ्लेभारेमा शनिबार दुई जना भूगर्भविद् अध्ययनका लागि जान लागेका छन्, सबै जिल्लामा विभागकै भूगर्भविद् पठाइएको छ । ”यही जेठ ३२ गतेसम्म द्रुतगतिको भौगर्भिक अध्ययन गरी आगामी असार २ गते गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न लागिएको विभागले जनाएको छ । बस्ती भएका स्थानको भौगर्भिक अध्ययन गरी सार्न आवश्यक भए÷नभएको प्रतिवेदन पेस गर्ने एकसूत्रीय अभियानका लागि विज्ञलाई सभासद्को नेतृत्वको समूहमा पठाइएको हो । मनसुन सुरु हुनु अगावै जोखिममा रहेका बस्ती सार्ने उद्देश्यले छिटो अध्ययन गराउन लागिएको विभागले जनाएको छ । जिल्ला गएका विज्ञलाई प्रजिअको सरुवा भएकाले आवश्यक सामग्री जुट्न गाह्रो भएकाले समस्या परेको गुनासो आएको छ । सभासद्ले धेरै स्थानका बस्तीको अध्ययन गर्न माग गरेकामा समय र सवारीसाधनको अभावमा काम गर्न नसकिने खबर आएको महानिर्देशक महतोले बताउनुभयो । यसैगरी हिमताल विस्फोट हुन सक्ने सम्भावनाको अध्ययन गर्न सोलुखुम्बु र दोलखा जान लागेको जल तथा मौसम विज्ञान विभागका भूगर्भविद् र जल विज्ञानविद्को समूह आज मौसमको प्रतिकूलताका कारण जान नसकेको महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो । “बुधबार सोलुखुम्बुको दूधकोसीमा अप्रत्याशित रुपमा बाढी आएको र त्यस दिन पानी पनि नपरेकाले सानो हिमताल फुटेको हुन सक्ने आशङ्कामा विज्ञबाट स्थलगत अध्ययन गराउन लागिएको हो” शर्माले भन्नुभयो । हिमताल फुट्ने उच्च जोखिममा रहेकाले सोलुखुम्बुको इम्जा हिमताल र दोलखाको च्छो रोल्पा हिमतालको समेत अध्ययन गराउन लागिएको विभागले जनाएको छ । शनिबार पनि मौसम सफा नहुने पूर्वानुमान भएकाले आइतबार मात्र समूह स्थलगत अध्ययनका लागि जाने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]