साउनको पहिलो सातासम्म संविधान आउँछ आउने सिटौलाको दाबी

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असहमति जनाएका मधेसवादी दलहरूलाई पनि सहमतिमा ल्याउन प्रधानमन्त्री सुशील कोइरालाले वार्ता र छलफललाई अगाडि बढाइरहनुभएको बताउनुभएको छ । साँझ विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै महामन्त्री सिटौलाले असहमति जनाएका मधेसवादी दलहरूलाई समेत साथै लिएर नयाँ संविधान जारी हुने उल्लेख गर्नु भयो । उहाँले संविधानका मस्यौदालाई १५ दिनभित्रमा पुर्णता दिएर छोटो बाटोबाट प्रक्रिया पु¥याएर संविधान जारी हुने जानकारी दिनु भयो । उहाँले मुख्य चारदलबीच भएको १६ बुँदे सहमतिले संविधान निमार्णका लागि बाटो खुलेको उल्लेख गर्दै आगामी असार मसान्तसम्म नभए साउनको पहिलो हप्तासम्ममा संविधान जारीगर्ने प्रयास भइरहेको बताउनुभयो । एक प्रश्नमा उहाँले नेपाली काँग्रेसको महाधिवेशनको मिति नसर्ने बताउनुभयो । उहाँले आगामी असोज ४ गते काँग्रेसको महाधिवेशन भएको पाँच वर्ष पुग्ने भएकाले काँग्रेसको विधानअनुसार मिति सार्न नमिल्ने भएकाले निर्धारित मितिमै महाधिवेशन हुने प्रष्ट पार्नुभयो । अब बन्ने नयाँ संविधानमा बहुलबाद कुनै न कुनैरुपमा रहने महामन्त्री सिटौलाको भनाई थियो । उहाँले बहुलबाद हाम्रो समाजसँग जोडिएको विषय भएकाले बहुलबाद कुनै न कुनैरुपमा नयाँ संविधानमा समेटिने बताउनुभयो ।