संविधान लेख्ने १६ बुँदे सहमतिको तमलोपासहित पाँच साना दलको विरोध

साना तथा केही मधेस केन्द्रित राजनीतिक दल र त्यससँग अबद्ध मोर्चाले संविधान लेखनका सन्दर्भमा प्रमुख चार शक्तिबीच सोमबार भएको १६ बुँदे सहमतिको विरोध गरेका छन् । संविधानसभामा प्रनिनिधित्व गर्ने साना पाँच राजनीतिक दल र त्यससँग अबद्ध मोर्चाले उक्त सहमतिप्रति आपत्ति प्रकट गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेका हुन् । एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकार परिवर्तन र निर्माणको खेलमा लगेर पहिचानसहितको सङ्घीयता मुद्दा छोडी आत्मसर्मपण गरेको गठबन्धनको आरोप छ । उक्त गठबन्धनको सिहदरबारमा बसेको बैठकपछि गठबन्धनका तर्फबाट तराई मेधस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रमुख चार शक्तिबीच भएको १६ बुँदे सहमतिले संविधानको भावना उल्लङ्घन गर्नुका साथै संविधानसभाको अधिकार क्षेत्रलाई कटौती गरेको उल्लेख गरिएको छ । सीमाङ्कन र नामाकरणबिनाको सङ्घीयताका विषयमा गरिएको सहमतिले लोकतान्त्रिक गणतन्त्र नेपालको चाहनालाई ओझेलमा पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गठबन्धनले आजको बैठकमा १७ वटा राजनीतिक दलको सहभागिता र समर्थन रहेको दाबी गरेको छ ।
कमल थापा पनि विरोधमा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान लेखनलाई अघि बढाउने क्रममा प्रमुख चार दलको मात्र निर्णय लाद्न खोज्दा अन्य दलका ‘एजेण्डा’ ओझेलमा परेको बताउनुभएको छ । संविधानसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानसभालाई पूर्णरुपमा उपेक्षा गरेर केही राजनीतिक दलले बाहिर गरेका निर्णयलाई लाद्न खोज्नु भनेको संविधानसभाको अबमूल्यन हो भन्नुभयो । मुलुकका जिम्मेवार राजनीतिक दलबाट यस किसिमको निर्णय हुनुले खासगरेर आम मतदाताको अपमान भएको पार्टीले ठहर गरेको बताउँदै अध्यक्ष थापाले समग्र मुलुक र जनताको हकअधिकारको पक्षमा राप्रपा नेपालले लोकतान्त्रिक ढङ्गले सधैँ आवाज उठाइरहने जानकारी दिनुभयो ।