संविधान निर्माणको काम अघि बढ्दै, संवाद समितिमा सहमतिको एकीकृत मस्यौदा तयार गर्ने निर्णय

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा पर्याप्त सहमति जुटाएर एकीकृत प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ । समितिको बैठकले प्रमुख राजनीतिक दलहरूबीच सोमबार भएको १६ बुँदे सहमतिका आधारमा सहमति जुटाउने र सो सहमतिमा असहमत रहेका दल तथा सभासद्का धारणालाई पनि सो प्रतिवेदनमा समावेश गरेर पठाइने समितिका सभापति डा बाबुराम भट्टराईले बताउनुभयो । दलहरूबीच सोमबार भएको सहमतिलाई समितिले एकीकृत प्रतिवेदन बनाएर संविधानसभाको बैठकमा पेस गर्ने उहाँले जानकारी दिनुभयो । समितिका बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले हिजो भएको सहमतिका बारेमा जानकारी गराउनुभएको थियो । संविधानसभाको बैठकले विवादित विषयलाई सोही समितिमा पठाएको र संविधानसभाको अर्को बैठक यही जेठ २८ गते ३ बजेका लागि निर्धारण भएकोे सन्दर्भमा तोकिएको समयभित्रै प्रतिवेदन पेस गर्ने समयसीमा प्रदान गरिएको छ । मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टीलगायतले सिमाङ्कन र नामाङ्कनको विषय नटुङ्ग्याइकन सहमति गरिनु अन्तरिम संविधानको मर्म र भावनाविपरीत भएको धारणा व्यक्त गरेका थिए । समितिका सभापति डा भट्टराईले संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलको सहमति नभए पनि अधिक सहमतिका आधारमा प्रतिवेदन तयार पारिने बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ शतप्रतिशत सहमति हुँदैन होला तर अधिक सहमतिका साथ प्रतिवेदन पेस हुन्छ र त्यसैका आधारमा संविधानसभाले आवश्यक निर्णय गरेर मस्यौदा समितिलाई मस्यौदा गर्न मार्ग प्रशस्त गर्नेछ ।’’