नेपालको पुनःनिर्माणका लागि सत्यार्थीको दुई सुझाव

नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनःनिर्माणका लागि दुई अलग निकाय गठन गर्न सुझाव दिनुभएको छ । नेपालको दुईदिने भ्रमणमा रहनुभएका सत्यार्थीले आफूले भूकम्प प्रभावित विभिन्न जिल्लाको समेत भ्रमण गरेको बताउँदै पुनःनिर्माणका लागि राष्ट्रियस्तरमा एक अधिकार सम्पन्न प्राधिकरण र अन्तर्राष्ट्रियस्तरमा नेपालको साख जोगाइराख्न एक अन्तर्राष्ट्रिय समन्वय समिति गठन गर्नुपर्ने सुझाव दिनुभएको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूले यो सुझाव प्रधानमन्त्री सुशील कोइरालाका साथै विभिन्न दलका शीर्षस्थ नेतासमक्ष प्रस्तुत गरेको र यसलाई उहाँहरूले सकारात्मक रूपमा लिएको समेत बताउनुभयो । उहाँले सुझाव दिनुभएको प्राधिकरणमा विपक्षी दलका नेता, सरकारका प्रतिनिधि, नागरिक समाज र पूर्व न्यायाधीश रहनुपर्ने र समितिमा प्रधानमन्त्री, विपक्षी दलका नेता, सरकारका प्रतिनिधि, नागरिक समाज र निजी क्षेत्रलाई समावेश गर्नुपर्ने बताउनुभयो । सोमबारदेखि नर्वे, जर्मनी र अमेरिका भ्रमण गर्न लाग्नुभएका सत्यार्थीले ती मुलुकमा नेपालका विद्यालय र बालबालिकाको अवस्थाको विषयमा आफूले कुरा उठाउने र सहयोगका लागि आह्वान गर्ने बताउनुभयो । विपत्तिका बेलासमेत नेपालीले देखाएको संयमितता र विद्यालय जान बालबालिकाले देखाएको चासोले आफू अत्यन्त हर्षित भएको उहाँको भनाइ छ । भूकम्प प्रभावित जिल्लाका बालबालिका बेचबिखनमा पर्न सक्ने सम्भावनाप्रति सरकार, अभिभावक, स्थानीयवासीलगायत सरोकारवाला बेलैमा सचेत हुन पनि सामाजिक अभियन्ता सत्यर्थीको आग्रह थियो । उहाँले भूकम्पका कारण ४०० बालबालिका अनाथ भएको र उनीहरूमा सामाजिक सचेतना र मनो–परामर्शको आवश्यकता रहेकामा जोड दिनुभयो ।