समयमै अस्थायी बासस्थानको व्यवस्था : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितलाई समयमै अस्थायी बासस्थानको व्यवस्था गरी खुला आकाशमुनि रहन बाध्य नपारिने र भोकभोकै नराखिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भूकम्पका कारण धरापमा परेका घर भत्काउने कार्यमा लागेका एमालेका स्वयम्सेवकलाई लेले–४ मा सामग्री वितरण गर्दै उहाँले भूकम्पबाट प्रभावित ७६ वटा निर्वाचन क्षेत्रमा झन्डै २८ हजार कार्यकर्ता स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो । विदेशबाट आउने सहयोगको सदुपयोग गरी देशलाई नयाँ नेपाल बनाउन सकिने बताउँदै उहाँले पीडितलाई अब राहत नभई जस्तापाता एवम् नगद वितरण गर्नुपर्नेमा जोड दिनुभयो । एमालेका स्वयम्सेवक सरकारसँग हातेमालो गदै पुनःनिर्माण कार्यमा सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो । यसैबीच, सरकारका तीनवटै सुरक्षा निकायले गरेको कामको उहाँले प्रशंसा गर्नुभयो ।