भूकम्प पीडित क्षेत्रबाट चिकित्सक लिएर फर्कदा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

चिकित्सक लिएर काठमाडौं फर्कदै गर्दा सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस–८ शीलापर्वतमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको मृत्यु भएको छ । माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ सो हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किदा क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताउनुभयो । हेलिकप्टर दुर्घटनामा डच नागरिक जेनिकको मृत्यु भएको र अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणले मउन्टेन एयरको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविन गर्न प्राविधिकको टोली सिन्धुपाल्चोकको यमुनाडाँडा–८ बलेफी पठाएको छ । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्र पुगेर दुर्घटनाबारे जानकारी लिनुका साथै उद्धारमा तत्काल लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको थियो ।