राष्ट्रपतिद्वारा वीर अस्पताल र दरबार हाइस्कुल निरीक्षण


????????????????????????????????????????????????????????????????भूकम्पले भत्किएको वीर अस्पतालको राष्ट्रपति डा रामवरण यादवले निरीक्षण गर्नुभएको छ । राष्ट्रपति यादवले वीर अस्पताल परिसरका बहिरङ्ग, अन्तरङ्ग विभागका साथै नर्सिङ कलेज तथा छात्रावासलगायत भवनको निरीक्षण गर्नुभएको थियो । भूकम्पबाट अस्पतालमा भएको क्षतिका बारेमा राष्ट्रपति यादवलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले जानकारी गराउनुभएको थियो । सो क्रममा राष्ट्रपति डा यादवले इतिहास बोकेको चिकित्सा विज्ञान संस्थालाई चाँडो मर्मत तथा पुनःनिर्माण गरी पहिलाकै अवस्थामा पु¥याएर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिनुभयो । भूकम्पले अस्पतालको नर्सिङ कलेजको छात्रावास र भान्छाकोठालगायत पूरै भवन क्षतिग्रस्त भएको छ । त्यहाँ सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर टाँसेको छ । त्यस्तै मुख्य भवनसँगैको बहिरङ्ग खण्ड मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर टाँसिएको छ । अस्पतालको नयाँ सघन उपचार कक्ष, अर्बुद्ध रोग, महिला उपचार कक्षलगायत रहेको चारतले भवनमा रातो स्टिकर टाँसिएको छ । वीर अस्पतालमा चारवटा मुख्य भवनसहित नर्सिङ कलेज छात्रावासलगायतका भवन छन् । करिब ४७ रोपनी क्षेत्रफलमा फैलिएको १२७ वर्ष पुरानो वीर अस्पताल विसं १९९८ मा स्थापना भएको थियो । नेपालको पहिलो अस्पताल वीर अस्पताल आधुनिक चिकित्साको पहिलो सुरुवाती गर्ने अस्पताल भएको उपकुलपति डा गुरुङ बताउनुहुन्छ । भूकम्पले अस्पताल वन क्षतिग्रस्त भएपछि मुख्य भवनका सेवा अहिले शल्यक्रिया र अन्तरङ्ग सेवा ट्रमा सेन्टरमा सञ्चालन भइरहेको छ । वीर अस्पतालको मुख्यसहितका भवन मर्मतसम्भार गरी चाँडै सेवा सुरु गर्ने तयारी भइरहेको उपकुलपति गुरुङले जानकारी दिनुभयो । वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितका अनुसार हाल नर्सिङ कलेज र छात्रावास रहेको १७ रोपनी क्षेत्रफलको भवन भत्काएर एक हजार श्ययाको १५ तले भवन बनाउने तयारी भएको थियो तर भूकम्पका कारण अब ६५० श्ययाको छ तले भवन बनाइने छ । वीर अस्पतालमा चिकित्सक, कर्मचारीलगायत गरी करिब एक हजार २०० कार्यरत छन् ।
दरबार हाइस्कुलको निरीक्षण
राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट क्षतिग्रस्त बनेको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुलको पनि निरीक्षण गर्नुभएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले उक्त स्कुल पूर्णरुपमा क्षति बनाएको थियो । भवन विभागले बस्न असुरक्षित जनाउँदै रातो स्टिकर टाँसेपछि दरबार हाइस्कुल परिसरमै अस्थायी टहरा बनाएर कक्षा सञ्चालन गरिएको छ । राष्ट्रपति डा यादवले दरबार हाइस्कुलको उत्सुक्तापूर्वक जानकारी लिनुभएको थियो । निरीक्षणका क्रममा राष्ट्रपति डा यादवले इतिहास बोकेको दरबार हाइस्कुल पुनःनिर्माणका लागि सरोकारवाला मन्त्रालयलाई निर्देशन दिने बताउनुभएको स्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनुभयो । दरबार हाइस्कुलका प्रधानाध्यापक महतोले अस्थायी टहरा र पालमुनि विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो । भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) मा २२५ र नेपाल संस्कृत माविमा १५० गरी ३७५ विद्यार्थी अध्ययनरत छन् । विसं १९१० मा स्थापना भएको नेपालको पहिलो दरबार हाइस्कुल तत्कालीन वीरशमशेर राणाले निर्माण गर्नुभएको थियो । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त स्कुल सुरुमा थापाथलीमा रहे पनि पछि १९४२ मा अहिलेको भवन रहेको स्थानमा सरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]