एमाओवादीद्वारा तीन हजार अस्थायी संरचना निर्माण


barsamanभूकम्प प्रभावितका लागि अस्थायी आवास तथा विद्यालयका कक्षा निर्माणको अभियानमा जुटेको एकीकृत नेकपा(माओवादी)ले हालसम्म करिब तीन हजार अस्थायी घर निर्माण गरेको छ । भूकम्पबाट अधिक प्रभावित १४ जिल्लामा राष्ट्रिय श्रम अभियानअन्तर्गत हरेक जिल्लामा दुई हजार जना नेता तथा कार्यकर्ता परिचालन गरेको उक्त पार्टीले २० दिनको अवधिमा उक्त सङ्ख्यामा अस्थायी आवास निर्माण गरेको हो । सिन्धुपाल्चोकमा ३६ वटा विद्यालयका निम्ति कक्षाकोठा निर्माण गरिसकेको उक्त पार्टीले आगामी एक साताभित्र सो जिल्लामा ७० भन्दा बढी विद्यालयका घर बनाउने पार्टी सचिव वर्षमान पुनले बताउनुभयो । सचिव पुनकाअनुसार दोलखामा छत्तीसभन्दा बढी विद्यालयका अस्थायी संरचना तयार भइसकेको छन् भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको टोलीले सोही जिल्लामा एक हजार ५०० भन्दा बढी भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गरिदिएको छ । एमाओवादीका अर्का सचिव टोपबहादुर रायमाझी नेतृत्वको टोलीले धादिङमा ३० वटा विद्यालयका अस्थायी संरचना तयार पारेको र आगामी सातादेखि उत्तरी धादिङमा अभियान केन्द्रित गर्ने जनाएको छ । प्रमुख सचेतक गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले नुवाकोटको शिखरबेँसी, भदौरैलगायत स्थानका १२ भन्दा बढी विद्यालयको अस्थायी संरचना निर्माण गरेको छ । यस्तै काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत मनमैजुस्थित मानसिंह उच्च माविको अस्थायी संरचना एमाओवादीका महासचिव कृष्णबहादुर महराले आज सो विद्यालयका प्रधानाध्यापक विनोद पण्डितलाई हस्तान्तरण गर्नुभयो । एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले काठमाडौँ क्षेत्र नं ६ स्थित झोरस्थित बौडेश्वर उच्च माविकोे अस्थायी घर विद्यालयका प्रधानाध्यापक उत्तम अधिकारीलाई हस्तान्तरण गरिएकोछ । यस्तै एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मा नेतृत्वको टोलीले गोरखाको आरुचनौटे, आरुपोखरी, मान्वु, सिरदीबासलगायत गाविसमा अस्थायी आवास तथा विद्यालयको संरचना तयार पारेको उक्त पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]