भूकम्पपछिको विद्यालय पढाई, सुरुमा मनोरञ्जन त्यसपछि अध्ययन

“तिमीहरू सबै ठीक छौ ? हाम्रो विद्यालय पनि ठीक छ, डराउनु पर्दैन, सकारात्मक सोच राख परिस्थितिलाई स्वीकार गर…” भन्डै एक महिनापछि गोङ्गबुँस्थित फ्लरिसेन्ट माविका प्रिन्सिपल बसन्त मरहठ्ठा विद्यार्थीलाई उत्साहित पार्दै हुनुहुन्थ्यो, “भूकम्पका कारण हाम्रा मन मस्तिष्कमा जे जस्तो प्रभाव परेको छ अब त्यसलाई बिर्स, आफ्नो नियमिततामा फर्क, केही समस्या भए शिक्षकलाई जानकारी देऊ ।” नयाँ भवनमा रातो ‘स्टिकर’ लगाइएको सो विद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीलाई ‘एसेम्ल्बी’ गराउँदा प्रिसिन्पल मरहठ्ठा, इञ्जिनियरिङ विषयका शोधार्थी र कक्षा शिक्षकले मनोसामाजिक परामर्श दिएका थिए । केही कक्षाका विद्यार्थीलाई टहरामा राखेर बिहानी सत्रमा पढाइए पनि अभिभावक र विद्यार्थीले आफ्ना लालाबाला पूर्ण सुरक्षित रहेका ठानेनन् । सामान्य अवस्थामा बिरलै विद्यालय आउन कक्षा १० का विद्यार्थीका अभिभावक पनि आज विद्यालयमा देखिएका थिए । शिक्षकहरूले अभिभावकलाई फर्कन आग्रह गर्दा पनि उनीहरूले आफ्ना सन्तानसँगै बस्ने चाहना व्यक्त गरिरहेका थिए । सो विद्यालयले तल्लो कक्षाका विद्यार्थीलाई यही जेठ २१ गतेदेखि दिवा सत्रमा पढाउने तयारी गरेको छ । भैँचालोको त्रासदीपछि विद्यालय खुलेको पहिलो दिन जोरपाटीस्थित चामुन्डा उच्च माविमा विद्यार्थीको उपस्थिति पातलो पाइयो । केही अभिभावक विद्यार्थीकै साथमा बसेका थिए । एक हजार एक सय विद्यार्थी भएको सो विद्यालयले विद्यार्थीमा व्याप्त मनोवैज्ञानिक त्रास हटाएर अपराह्न १ बजे बिदा दिएको थियो । प्रधानाध्यापक यादव पौडलले आज उपस्थित विद्यार्थी आफूले साचेजस्तो भयभीत नभएका बताउनुभयो । प्राकृतिक विपत्तिका कारण एक महिनाभन्दा लामोसमयदेखि बन्द रहेका विद्यालयल आजदेखि सञ्चलनमा आए पनि अधिकांशमा पढाइ सुरु भएको छैन । कक्षा रहेका भवन क्षति भएका र विकल्प तयार भइनसकेका विद्यालय अझै बन्द छन् । काठमाडौँ उपत्यकालगायत सामुदायिक एवम् निजी विद्यलायका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ । शिक्षा मन्त्रालयले केही दिन झोला नदिई विद्यालय पठाउन अभिभवकमा आग्रह गरेको थियो भने शिक्षकले केही दिन मनोसामाजिक परामर्श दिनुपर्ने निर्देशन गरेको थियो । सोअनुसार विद्यालयहरूले पाठ्यपुस्तकमा प्रवेश नगरी परामर्श, गीत, नृत्य, खेल, साङ्गीतिक प्रस्तुतिमा छात्रछात्रालाई भुलाएका थिए । विद्यार्थीबीच भूकम्पका आफ्ना अनुभव आदानप्रदान गएिको थियो । विद्यालय सञ्चालनमा आउनुअघि शिक्षकलाई विज्ञबाट परामर्श दिइएको थियो । शङ्खमूलस्थित काठमाडौँ मोडल विद्यालयका प्रिन्सिपल किशोर गौतमका अनुसार विद्यार्थीलाई मनोरञ्जन र ‘साङ्गीतिक थेरापी’ दिइएको थियो । नेपालटारस्थित नेपाल राष्ट्रिय उच्च माविका प्राचार्य धनलाम महर्जन भन्नुहुन्छ, “सरकारको निर्देशनअनुसार केही दिन पढाइ भन्दा अतिरिक्त क्रियाकलाप र परामर्श सञ्चालन गरिनेछ ।”