भूकम्पबाट मृत्यु भएका बेवारिसे २५ शव अस्पतालमा, आफन्तको खोजी


deadभूकम्पबाट मृत्यु भएको २५ शवको अझै सनाखत हुन सकेको छैन । प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार सनाखत हुन नसकेकामध्ये १७ शव पहिचान खुल्ने अवस्थामा र आठ शव क्षत्विक्षत् अवस्थामा छन् । सनाखत हुन बाँकी तर पहिचान खुल्ने अवस्थामा रहेका १७ शवमध्ये १३ पुरुष, एक विदेशीसहित तीन महिला र एक बालिका छन् । सनाखत हुन नसकेको शवमध्ये काठमाडौँको १५, रसुवा लाङटाङको सात, दोलखाका दुई र भक्तपुरका एक छन् । तस्बिर, औँठा छाप, डिएनएलगायत अभिलेखीकरण सम्पन्न गरी शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ । आज मात्रै रसुवाका एक व्यक्तिको शव पहिचान गरी आफन्तले बुझेका छन् । भूकम्पपछि आफन्त हराएका परिवारलाई शिक्षण अस्पतालमा आएर आफ्नो परिवारको सदस्यको शव हो÷होइन भनी पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमै अपिल गरिसकेको छ । भूकम्पमा परी हालसम्म १९५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ । प्रहरी नायब महानिरीक्षक भण्डारीका अनुसार हराइरहेकाको परिवारका सदस्यलाई ल्याएर पहिचान नखुलेका शव देखाउने तयारी गरिएको छ । अझै केही समय ती शव राखिने र सो समयमा पनि पहिचान नखुले मुचुल्का गरी अन्त्येष्टि गर्ने तयारी प्रहरीको छ । काठमाडौँमा भेटिएका तर पहिचान नखुल्ने शवमध्ये अधिकांश गोँगबु नयाँ बसपार्क क्षेत्रमा भेटिएका हुन् । उनीहरू त्यहाँस्थित होटलका पाहुना भएको अनुमान गरिएको छ । उनीहरूको पहिचान खुल्ने विवरण र कपडाको तस्बिर प्रहरीले आफ्नो वेभसाइटमा राखेको छ । भूकम्पबाट मृत्यु भएका आठ हजार ६९२ मध्ये आठ हजार ६६४ जनाको शव आफन्तलाई बुझाई सकिएको प्रहरीले जनाएको छ । दोलखा, गोरखालगायत जिल्लामा अझै पनि पुरिएको अवस्थामा शवहरू रहेको र भग्नावशेषबाट शव झिक्ने कार्य जारी रहेकाले पहिचान नहुने अवस्थाका अन्य शव आउन सक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]