राष्ट्रिय सरकार गठनबारे मधेसी मोर्चा र तीन दलबीच छलफल


four partyमधेसी मोर्चा र प्रमुख तीन दलबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे औपचारिक छलफल प्रारम्भ भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ भएको मोर्चा र तीन दलका शीर्षनेता सम्मिलित बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका साथै भूकम्पबाट सिर्जित महाविपत्तिको व्यवस्थापनका निम्ति त्यस्तो सरकार गठनको आवश्यकता औँल्याइएको थियो । वर्तमान सरकारलाई विस्तार गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने वा नयाँ नेतृत्वमा त्यस्तो सरकार बनाउने भन्ने बारेमा बैठकमा सहभागी नेताले स्पष्ट गर्न अस्वीकार गर्नुभयो । करिब दुई घन्टा भएको उक्त बैठकमा संविधान लेखनका बाँकी कामलाई टुङ्गोमा पु¥याउने र राष्ट्रिय एकतासहितको राष्ट्रिय सरकार गठनमा केन्द्रित रहेर छलफल भएको थियो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पबाट पैदा भएको महाविपत्तिको व्यवस्थापन गर्न सहमतिको राष्ट्रिय सरकार बनाउने विषयमा बैठकमा गहन विचारविमर्श भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अघिल्लो संविधानसभाबाट संविधान जारी गर्न सकेनौँ र वर्तमान संविधानसभाले पनि अहिलेसम्म संविधानको पूर्ण खाका तयार गर्न सकेन, भूकम्पबाट सिर्जना भएको विपत्ति र राजनीतिक सङ्कट सामना गर्न राष्ट्रिय सरकार बनाउने विषयमा छलफल भएको हो ।” राजनीतिक सङ्कट समाधान र सहमतिको आधारमा संविधान घोषणा गर्नेमा छलफल केन्द्रित रहेको अध्यक्ष गच्छदारले बताउनुभयो । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र अध्यक्ष गच्छदार सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?