पाँच वर्षभित्र पुननिर्माण सक्ने सरकारी योजना रहेको गृहमन्त्री गौतमको दाबी

उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माण आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । सामुदायिक सूचना नेटवर्कको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित “विपद्मा सामुदायिक रेडियोको भूमिका’ विषयक कार्यक्रममा उहाँले अब निर्माण गरिने भौतिक संरचना भूकम्प प्रतिरोधात्मक हुने बताउनुभयो । नयाँ बस्ती विकासका क्रममा सुरक्षित स्थानको खोजी गरेर एकीकृत बस्ती विकासको अवधारणा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले ध्वस्त संरचना पुनः निर्माणमा करिब रु. पाँच खर्ब बजेटको आवश्यक परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुनः निर्माणमा लाग्ने खर्चको जोहो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरिने छ ।” विपद्का बेला कालाबजारी गर्नेहरूको अभिलेख राखिएको जानकारी दिँदै उहाँले त्यसो गर्नेहरूविरुद्ध राज्यले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यले निर्धारण गरेका नीतिनियम र मौजुदा कानुनविपरीत निजी क्षेत्रलाई उक्साएर काम गर्नेहरूविरुद्ध पनि राज्य कठोर रूपमा प्रस्तुत हुने चेतावनी उहाँले दिनुभयो । अब गरिने निर्माण एवम् पुनः निर्माण मापदण्डअनुरुप हुनैपर्नेमा जोड दिँदै त्यसो नगर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट गर्नुभयो । हालसम्म १३ लाख थान त्रिपाल भूकम्पपीडितलाई वितरण गरिसकेको जानकारी उहाँले दिनुभयो । सोही कार्यक्रममा उपप्रधानमन्त्री गौतमले ‘विपद् रिपोर्टिङ ः रिपोर्टरका लागि गाइड’ नामक पुस्तक पनि विमोचन गर्नुभयो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सूचना केन्द्रको स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक नागरिकले सूचनाको अधिकार निर्बाध रूपमा उपभोग गर्न पाउनुपर्छ भन्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै विपद्का बेला पनि सक्रिय रूपमा सूचना प्रवाह गरेका बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले जोखिममा पनि सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको समीक्षा गरिनुपर्ने बताउनुभयो । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले विपद्को घडीमा सबै सामुदायिक रेडियोको नवीकरण शुल्कमा छुट हुनुपर्ने माग गर्नुभयो ।