नेपाली जनताको भविष्यप्रति प्रधानमन्त्री आशावादी, यही सरकारले पुननिर्माण गर्छ

प्रधानमन्त्री सुशील कोइरालाले आफू नेपाली र नेपालको भविष्यप्रति अत्यन्त आशावादी रहेको बताउनुभएको छ । उहाँले सो कुरा प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आउनुभएको नेपाल बैंक लिमिटेडका कर्मचारीसँंग बताउनुभएको हो । कर्मचारीले प्रदान गरेको ८७ लाख २५ हजार ६०५ रुपैयाँ ८० पैसाको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सरकारको त केन्द्रीय तहदेखि स्थानीय तहसम्म संरचना छ । यस्तो संरचनाबाट सहयोग पुग्दैन भनेर अफवाह फिजाउनेसँग सतर्क रहनु पर्छ ।” उहाँले यो अप्रत्याशित भूकम्पको अकल्पनीय विनाशबाट पीडितको खोजी, उद्धार, राहत र पुनः स्थापनाको कार्यलाई विदेशीले सराहना गरेको बताउनुभयो । जस्तोसुकै विकसित मुलुकमा पनि प्राकृतिक प्रकोपको व्यवस्थापन गर्न पाँच÷सात दिन लाग्ने बताउँदै उहाँले भन्नुभयो, “सीमित स्रोत साधन, सीमित जनशक्ति र उपकरणका बीचमा नेपालमा जुन ढङ्गले काम भयो, त्यो सराहनीय छ ।” भेटमा बैंकका महाप्रबन्धक देवेन्द्रप्रताप शाहलगायत विभिन्न कर्मचारी तथा सङ्घसङ्गठनका प्रतिनिधिको उपस्थिति थियो ।
अनुसन्धानको पचास लाख
बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागले उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । विभागका प्रमुख दिलीप रेग्मीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
आडराको पाँच लाख
आजै अस्ट्रेलियामा कार्यरत नेपालीको आधार आडरा डेभलपमेन्टले पनि कोषमा सहयोग प्रदान गरेको छ । संस्थाका प्रतिनिधिले रु. पाँच लाखको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
हिमालय टर्मिनलको पाँच लाख
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हिमालयन टर्मिनलका आरबी रौनियारले रु. पाँच लाख सहयोग गर्नुभएको छ । सो संस्थाले वीरगन्ज सुक्खा बन्दरगाहको सञ्चालन गर्दै आएको छ ।
विदेशी मुद्रा व्यवसायीको साढे तीन लाख
आजै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा विदेशी मुद्रा व्यवसायी सङ्घका तर्फबाट रु. तीन लाख ५१ हजार १११ प्राप्त भएको छ । सङ्घका पदाधिकारीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई प्रदान गर्नुभएको थियो ।
विवाहलाई छुट्याएको रकम कोषमा
सुरेन्द्र माथेमाले छोरी प्रिती माथेमाको विवाहका लागि छुट्याएको मध्ये रु. दुई लाख भूकम्पपीडितको सहयोगका लागि प्रदान गर्नुभएको छ । सो रकम माथेमा, उहाँकी पत्नी माला माथेमा, छोरी प्रिती र ज्वाइँ जेसी टिस (अमेरिकी नागरिक)ले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा माथेमाले मुलुक दुःखमा रहेको बेलामा तामझाम गरेर विवाह गर्न इच्छा नभएको र भोज तथा अन्य खर्चका लागि छुट्याएको रकम भूकम्पपीडितका लागि प्रदान गरिएको बताउनुभयो ।
नाकामुरा केनिची कर्पोरेसनको सहयोग
जापानमा अवस्थित नाकामुरा केनिची कर्पोरेसनले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । सो संस्थाले १६ हजार ६६७ अमेरिकी डलर सहयोग गरेको हो ।
साबेल बोकेर प्रधानमन्त्री सडकमा
प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा आज सरिक हुनुभयो । भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने कार्य तीव्रताका साथ भइरहेको छ । सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडाँै महानगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएका छन् । सो सरसफाइमा भाग लिने क्रममा प्रधानमन्त्री कोइरालाले वसन्तपुर दरबार, हनुमानढोका, नरसिंह चोक, कुमारी घरसमेतको अवलोकन गर्नुभएको थियो ।