‘गाउँ–गाउँबाट उठ…’ गीत घन्काउँदै एमाले कार्यकर्ताहरु भूकम्पपीडितको सेवामा

प्रकाश सिलवाल
‘गाउँ–गाउँबाट उठ…’ बोलको गीतलाई घन्काउँदै नेकपा (एमाले) को जारी राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत धराप बनेका संरचना, सामग्री पुरिएर असरल्ल बनेका घरको सफाइ र ओतको व्यवस्थापन कार्यले तीव्रता पाएकोे छ । यही जेठ १० गतेबाट सुरु सो एकमहिने अभियानको तेस्रो दिन आज केन्द्रिकृत रुपमा १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा खटिएका स्वयंसेवकले पीडित जनसमुदायका घर भत्काएर सफाइ गर्ने, बाटो सफाइ गरी खुला गर्ने, मन्दिर, देवल र पाटीको सरसफाइ गर्ने, सरकारी विद्यालयको भग्नावशेष हटाई अस्थायी संरचना निर्माण गरेर कक्षा सञ्चालनयोग्य बनाउने र नयाँ अस्थायी घर निर्माण कार्यलाई जारी राखेका छन् । अभियानका संयोजक तथा सचिव गोकर्ण विष्टले अभियानअन्तर्गत बढीभन्दा बढी अस्थायी घर र टहरा निर्माण गरी वर्षात्अघि नै पीडित जनसमुदायलाई ओतको व्यवस्था गर्ने कामलाई प्राथमिकता दिइने बताउँदै स्वयंसेवकलाई पीडित जनसमुदायलाई ओतको व्यवस्था केन्द्रित हुन र नवनिर्माणको सन्देश प्रवाहित गर्न स्थलमा खटिएका टोलीलाई आग्रह गर्नुभएकोे छ । उहाँले अभियानमा सबै सामथ्र्यका साथ जुट्न आह्वान गर्दै सामुदायिक विद्यालय निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो । पार्टीका प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार हालसम्म अभियान सञ्चालित उपत्यकाका १५ निर्वाचन क्षेत्र तथा सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लामा मात्रै तीन दिनमा २०० भन्दा बढी अस्थायी घर निर्माण भइसकेका छन् । यस क्रममा काठमाडौँको बालाजु, झोर, गोंगबु, बाफल, सिन्धुपाल्चोकको सिपापोखरी, ललितपुरको चापागाउँ नगरपालिकाअन्तर्गत डाँडागाउँ र बोहरा गाउँ तथा लामाटार, गोदामचौर आदि गाउँ, भक्तपुरको महामञ्जुश्री नगरपालिका र धादिङको थाक्रे गाविसमा अस्थायी घर बनाइएको छ । गोरखाको क्षेत्र नं २ स्थित केराबारी पुगेको बाबुराम अधिकारीसहितको टोलीले त्यहाँको पुरानो नेपाने माविको भग्नावशेष हटाई टहरा निर्माणमा जुटेका छन् । अभियानका क्रममा भूकम्पमा परी ज्यान गुमाउने मृतक परिवारका घरपरिवारहरूलाई केन्द्रित गरी अस्थायी बसोबास निर्माण गर्न केन्द्रित हुने, दलित, विपन्न, एकल महिला र अपाङ्गता भएका परिवारलाई आधारित गरी सम्पूर्ण शक्ति परिचालित गरेर अस्थायी बसोबास मिलाउने काम भइरहेका छन् । काठमाडौँको झोर, दोलखाको मैनापोखरी, काब्रे र बाबरे, सिन्धुपाल्चोकको कर्थली, सिखरपुर, तारामराङ र महाकाँल गाविस, नुवाकोटको गणेशस्थान, बेलकोट र मदनपुर, धादिङको सल्यानटार र आरुघाट, रसुवाको भोर्लेटार लामाचेप, रामेछापको मन्थली (पुरानो चिसापानी) आदि स्थानमा २५ वटाभन्दा बढी सरकारी विद्यालयको भग्नावशेष हटाउने, भत्किएका सामग्री पन्छाउने आदि काम गरिएको छ । यसै क्रममा नुवाकोटको गणेशस्थान–१ स्थित जाल्पा युवा प्राविको चारकोठे स्कूल भवन निर्माण गर्नुका साथै अर्को एउटा भवनको मर्मत सम्भारसहित हस्तान्तरण गरेको छ । दस हजार कार्यकर्ता परिचालित अभियानका क्रममा जम्मा २५० भन्दा बढी भत्किएका निजी घर सरसफाइ गरी महत्वपूर्ण सामग्री निकाली सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । विभिन्न ठाउँमा चार वटा मन्दिर र नौवटा बाटोको सरसफाइ गरिएको छ भने पाँचवटा उद्धारका कामसमेत गरिएको एमालेले जनाएको छ ।