स्वयम्भूको भग्नावशेषबाट मल्लकालीन सिक्का र मूर्ति भेटियो

विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथ क्षेत्रबाट भग्नावशेष हटाउने क्रममा प्राचीन महत्वका मूर्ति तथा सिक्कालगायत ५०० वस्तु फेला परेका छन् । भग्नावशेषबाट विभिन्न आकारका माटो, ढुङ्गाका मूर्ति, भैरवका मूर्ति, देवताका मूर्ति प्रताप मल्लका पालामा प्रचलनमा रहेका सिक्का फेला परेको हुन् । स्वयम्भूनाथ व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले पुरातत्व विभागले भग्नावशेष हटाउन अनुमति दिएपछि ती वस्तु फेला परेको बताउनुभयो । उहाँले प्रहरी र स्थानीयवासीको रोहबरमा ती सामग्री राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिने जानकारी दिनुभयो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको स्थल स्वयम्भूनाथमा भूकम्पबाट क्षति भएपछि त्यहाँका महत्वपूर्ण सम्पदा भत्किएका छन् भने नढलेका त्यस्ता सम्पदा पनि जोखिममा छन् । शान्तिपुर, अनन्तपुर, अग्निपुर पूर्ण ध्वस्त छन् भने प्रतापपुर नभत्किएको भए पनि जग कमजोर भई जोखिम बढेको छ । स्थानीय पुजारीका १७ घर बस्नै नमिल्ने गरी भत्किएका छन् । त्यसैगरी सोही स्थानमा प्राचीन महत्वको भुटानी गुम्बा र कर्मराज महाविहारमा समेत क्षति भएको छ ।