हतारमा घर नबनाउन विज्ञको सुझाव, भौगोलिक सूक्ष्म अध्ययन आवश्यक

भूगर्भशास्त्री तथा इन्जिनियरहरूले भौगोलिक क्षेत्रको सूक्ष्म अध्ययन नगरी घर तथा आवास नबनाउन आग्रह गरेका छन् । उनीहरूले गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण मुलुकका १४ जिल्ला बढी प्रभावित भएको र जमिन धाँजा फाटेका कारण विशेष ध्यान दिनुपर्ने बताएका हुन् । हिमाली र उच्च पहाडी क्षेत्रमा सुख्खा पहिरो चलेको र अन्य क्षेत्रको जमिनसमेत कमजोर भएका कारण घर तथा आवास निर्माणमा विशेष सावधानी अपनाउनसमेत उनीहरूले सुझाएका हुन् । गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाका हिमाली तथा पहाडी बस्ती बढी जोखिममा रहेकाले साना पराकम्प पनि गइरहेको अवस्थामा आवास निर्माणका लागि हतार गर्नभन्दा पनि अवस्थाको मूल्याङ्कन गरेरमात्र अस्थायी आवास बनाउनुपर्नेमा जोड दिइएको छ । भैँचालोपछिको पुनःनिर्माणमा विशेष सचेतता अपनाउनुपर्ने, सरकारी, गैरसरकारी क्षेत्रले पनि प्रभावित क्षेत्रका जनतालाई सही र तथ्यपूर्ण सूचना दिनुपर्ने र भौतिक संरचनाको निर्माणमा पनि आवश्यक सचेतता अपनाउनुपर्ने उनीहरूको भनाइ छ । थापाथली इन्जिनियरिङ क्याम्पसका प्रमुख डा हरिराज पराजुली भूकम्पका कारण क्षति नभएका घर तथा आवास पनि बस्न योग्य नभएका कारण तत्काल भत्काउनुपर्ने र नयाँ आवास बनाउनु अघि प्राविधिक परीक्षण गराउनु पर्ने सुझाव दिनुहुन्छ । तत्कालका लागि स्थानीय स्रोत र साधनको उपयोग गरेर नै अस्थायी आवास बनाउनुपर्ने र दीर्घकालीन रुपमा एकीकृत बस्ती विकासको अवधारणा अगाडि सानुुपर्ने र जनतालाई प्राविधिक रुपमा समेत सचेत बनाउनुपर्ने उहाँको सुझाव छ । त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका प्रमुख लालुप्रसाद पौडेल आफँैले असावधानीपूर्ण तवरले निर्माण गरेका संरचनाका कारण ठूलो जनधनको क्षति भएकाले आगामी दिनमा प्राविधिक रुपमा नै अध्ययन गरेर आवास बनाउनुपर्ने बताउनुहुन्छ । गत वैशाख १२ गते गएको भूकम्पले मुलुकको १५० किलोमिटर लम्बाइ, ६० किलोमिटर चौडाइ र १५ किलोमिटर गहिराइमा प्रभाव पारेका कारण जमिन हल्लिएको र धाँजा फाटेका कारण घर निर्माण गर्दा सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । हल्का सामग्री प्रयोग गरेर तत्कालका लागि आवास बनाउनुपर्ने र आगामी दिनमा भूगर्भशास्त्री तथा इन्जिनियरको सुझाव लिएर भूकम्प प्रतिरोधी भवन बनाउनुपर्ने प्रमुख पौडेल बताउनुहुन्छ । इन्जिनियर तथा प्राध्यापक डा जगत श्रेष्ठ वर्षाको समय आउन लागेका कारण चिसोबाट बच्ने खालको अस्थायी टहरा निर्माण गर्नुपर्ने, स्थानीय साधन र स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने र जस्तापाता अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभयो । भैँचालोका कारण मुलुकभर आठ लाखभन्दा बढी घर तथा आवास स्थल भत्किएको जनाइएको छ । सरकार र मातहतका निकायले क्षतिको लगत लिने काम जारी रहेकाले सो तथ्याङ्क अझै बढ्ने देखिन्छ । कमजोर ढुङ्गा र माटोबाट बनेका घर तथा आवास प्रायः भत्किएका छन् भने कमजोर भूसंरचनामा बनेका घर पनि भैँचालोमा परेका छन् । भौगर्भिक रुपमा नेपालको हिमाली तथा पहाडी क्षेत्र कमजोर रहेका कारण पनि बढी क्षति भएको श्रेष्ठको भनाइ छ । भूकम्प विषयमा नै विद्यावारिधि गर्नुभएका दीपक भाट कमजोर संरचनाका कारण धेरै क्षति भएकाले भौतिक संरचना निर्माण गर्दा कुन स्थानमा बस्न मिल्ने हो वा होइन भन्ने विषयमा प्राविधिक जाँच गराएरमात्रै नवनिर्माण गर्नुपर्ने बताउनुहुन्छ । काठमाडौँको बालाजु, गौँगबुँ, भक्तपुरको कौशलटार क्षेत्रको भौगर्भिक संरचना नै कमजोर रहेका कारण धेरै क्षति भएको अध्ययनबाट पत्ता लागेको र पहाडी क्षेत्रमा पनि सोही अवस्थिति रहेका कारण तत्काल स्थायी प्रकृतिको संरचना निर्माण गर्नु फेरि पनि धराप थाप्नुबराबर हुने उहाँ बताउनुहुन्छ । अर्का भूकम्प विज्ञ डा सुवेश घिमिरेका विचारमा नेपालमा प्रत्येक एक सय वर्षको हाराहारीमा ठूला भूकम्प गएका कारण तत्काल अर्को ठूलो भूकम्प आउने सम्भावना कम भएको भए पनि पूर्व सावधानी अपनाउन आग्रह गर्नुभयो । भूकम्पबाट खण्डहर भएका मुलुकहरू पनि प्रगतिको बाटोमा लागेका कारण नेपालले विपत्तिलाई अवसरमा बदलेर पुनःनिर्माणमा जुट्नुपर्ने उहाँको तर्क छ ।