जोखिममा परेका बासिन्दालाई स्थानान्तरणको सुझाव, सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने


???????????????????????????????????????व्यवस्थापिका–संसद्द्वारा गठित ‘राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समिति’बाट भूकम्प प्रभावित जिल्लाको अनुगमनका लागि खटिएका उपसमितिले अति जोखिममा परेका स्थानका बासिन्दालाई स्थानान्तरण गर्न सुझाव दिएका छन् । समितिले भूकम्पपछि सरकारबाट घोषित सङ्कटग्रस्त १४ जिल्लामा चार÷चार सभासद् सम्मिलित उपसमितिलाई अनुगमनको जिम्मेवारी दिएको थियो । समितिको बैठकमा प्रतिवेदन पेस गर्दै विभिन्न चार उपसमितिले वर्षा अगावै अति प्रभावित गाविसका जनतालाई अस्थायी स्थानान्तरण गर्न र भासिएका जमिन र स्थानमा बस्न मिल्ने÷नमिल्ने बारेमा भूगर्भविद्सहितको अध्ययन टोली परिचालन गर्न सुझाव दिएका हुन् । संसद्मा सरकारले व्यक्त गरेको प्रतिबद्धता र पारित सङ्कल्प प्रस्तावका आधारमा सरकारले राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि ठोस कार्ययोजना ल्याउन पनि सभासद्ले जोड दिनुभएको छ । प्रभावित जिल्लामा आवश्यक खाद्यान्न, खानेपानी, सिँचाइ, सञ्चार र स्वास्थ्य सेवा प्रभावकारी बनाउन, राहत सामग्री वितरणमा कतिपय गाविस सचिवले गरेको मनोमानी रोक्न र कृषकलाई बीउ–मलको प्रबन्ध गर्न पनि उहाँहरूले सुझाव दिनुभएको छ । सिन्धुपाल्चोक खटिएको उपसमितिका तर्फबाट प्रतिवेदन सुनाउँदै सभासद् रेखा शर्माले जिल्लामा जाँदा आफूहरुले पहिला सोचेको भन्दा बढी क्षति देखेको र टाउको रिङ्ग्याउने खालको स्थिति भएको बताउनुभयो । समितिका सभापति एवम् सभामुख सुवास नेम्वाङको अध्यक्षतामा भएको वैठकमा धादिङ पुगेको उपसमितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै टोपबहादुर रायमाझीले सञ्चारमाध्यमबाट भूकम्पका बेला खाट वा टेबलमुनि लुक्नु भन्ने सूचना दिइएकाले पनि कतिपयले ज्यान गुमाएको भन्दै पुनर्लाभका लागि स्थानीय तहमा मनोवैज्ञानिक केन्द्र स्थापना गर्न सुझाव दिनुभयो । सिन्धुली उपसमितिका तर्फबाट सभासद् आनन्दप्रसाद ढुङ्गानाले राहत वितरण तुलनात्मकरुपमा व्यवस्थित हुँदै गएको बताउनुभयो । ओखलढुङगा जिल्लाको अनुगमनपछि सभासद् दुर्गा पौडेलले राहत वितरणमा एकरुपता नभएको तथा कतिपय गाउँका झुटो विवरण दिइएको गुनासो गर्नुभयो । धादिङको प्रतिवेदन प्रस्तुत गर्दै टोपबहादुर रायमाझीले विपत् व्यवस्थापनमा खटिएका राष्ट्रसेवकबाट राहत कोषमा रकम कट्टा नगर्न र उनीहरुलाई रु १० लाखसम्मको जीवन बीमा गर्न पनि सुझाव दिनुभयो । उपसमितिका प्रतिवेदन अध्ययन गरी तत्काल गर्नुपर्ने कामबारे सरकारलाई दिने निर्देशन तयार गर्न समितिले यसअघि गठित उपसमितिलाई जिम्मेवारी दिएको छ । सो उपसमितिमा नेपाली काँग्रेसका पूर्णबहादुर खड्का, नेकपा (एमाले)का अग्निप्रसाद खरेल, एमाओदीका गिरिराजमणि पोखरेल र सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण सम्मिलित हुनुहुन्छ भने आजको बैठकले कुन्ती शाहीलाई थप गरेको छ ।
सरकारबाट पूर्ण विवरण आउन बाँकी
सभामुख नेम्वाङले समितिका निर्देशन र सरकारका कामबारे केही निर्णयबारे जानकारी दिइएको भए पनि पूर्ण विवरण प्राप्त नभएको बताउनुभयो । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम उपस्थित हुनुहुन्थ्यो । बाँकी उपसमितिको प्रतिवेदनको प्रस्तुति शनिबार १ बजेको बैठकमा हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]