राजदूत उपाध्याय र मुख्यमन्त्री केजरीवालबीच नयाँ दिल्लीमा भेट

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ दिल्लीमा भारतीय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । भूकम्पबाट प्रभावितका लागि भारतका तर्फबाट हुनसक्ने सहयोगका बारेमा उहाँले केही हप्तादेखि विभिन्न नेताहरूसँग छलफल गरिरहनुभएको छ । छलफलका क्रममा भारतीय नेताहरूले नेपाललाई आवश्यक पर्ने सक्दो सहयोग गर्ने वचन दिएको राजदूत उपाध्यायले बताउनुभयो । राजदूत उपाध्यायले नयाँ दिल्लीका मुख्य मन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई भेट्नुभएको जानकारी दिनुभयो । मुख्यमन्त्री केजरीवालसँग उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो । नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराउनुभएको थियो । जवाफमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको आश्वासन दिनुभएको थियो । नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ आफूलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको राजदूत उपाध्यायले जानकारी दिनुभयो । उहाँले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा जान आफू इच्छुक भएको पनि बताउनुभएको छ । भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताउनुभएको थियो । राजदूत उपाध्यायले यसअघि हिजो गृहमन्त्री राजनाथ सिंहलाई भेट्नुभएको थियो ।