नेपाललाई चाहिने सहयोगका विषयमा बुझ्न मोदीका विशेष दूत काठमाडौंमा

प्रधानमन्त्री सुशील कोइरालासँग नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीका प्रमुख अतिरिक्त सचिव डा पी के मिश्राले आज भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच भारत–नेपाल सम्बन्धका विविध पक्षका साथै भूकम्पछिको निर्माण, पुनः स्थापना तथा नेपाल सरकारका तत्कालका आवश्यकताबारे विचारविमर्श भएको यहाँस्थित भारतीय दूतावासका प्रवक्ता अभय कुमारले राससलाई बताउनुभयो । साथै उहाँहरुबीच दीर्घकालीन पुनःनिर्माण र पुनःस्थापना तथा पुरानै अवस्थामा जनजीवनलाई फर्काउने उपायबारे पनि छलफल भएको जानकारी उहाँले दिनुभयो । विपत्तिको घडीमा भारत सरकारले राहत तथा उद्धारका निम्ति तत्काल सहायता उपलब्ध गराएकामा आभार व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले नवनिर्माणका काममा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा नेपालका लागि भारतीय राजदूत रणजीत रायको उपस्थिति थियो । यसैबीच, अर्थमन्त्री डा रामशरण महत र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई बेग्लाबेग्लै भेटेर भूकम्पपछिको निर्माणमा केन्द्रित रहेर कुराकानी भएको जानकारी पनि प्रवक्ता अभयकुमारले दिनुभयो ।