धमाधम उत्तर पुस्तिका जाँच्ने काम हुँदै, प्रवेशिका परीक्षाफल असार दोस्रो सातामा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालै आएको भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने बताउनुभयो । भूकम्पले परीक्षार्थीको उत्तरपुस्तिका पुरिएको हल्ला गरिए पनि यो निराधार रहेको स्पष्ट पार्दै द्वारेले भन्नुभयो, “एसएलसीको उत्तरपुस्तिका सबै सुरक्षित छन्, ६४ वटा परीक्षा केन्द्रबाट परीक्षण भइरहेकामा ११ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण सकेर कार्यालयमा आइसकेको छ ।” परीक्षा सञ्चालन भएको तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने परम्पराअन्तर्गत गत चैत ५–१३ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार दोस्रो सातासम्म प्रकाशन गरिसक्नुपर्नेछ । परीक्षा नियन्त्रक द्वारेले सानोठिमीस्थित कार्यालयको भवन निकै चर्किएकाले तत्काल यहाँ बसेर काम गर्न सक्ने अवस्था नभएकाले विगत वर्षभन्दा यस वर्ष परीक्षाफल प्रकाशनमा केही ढिलाइ भने हुने बताउनुभयो । गत वर्ष कार्यालयले जेठ ३० गते परीक्षाफल प्रकाशन गरेकाले यस वर्ष यही जेठ २५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने योजना रहे पनि भूकम्पका कारण परीक्षाफल प्रकाशन असारमै पुग्ने कार्यालयको भनाइ छ । द्वारेले भन्नुभयो, “भूकम्पले कार्यालय भवनमा क्षति पु¥याएकाले प्राविधिक काम गर्न केही ढिलाइ हुने हुँदा केही दिन परीक्षाफल प्रकाशनमा ढिलाइ हुन्छ, तर परीक्षाफल स्थगन र पुनःपरीक्षा गर्नुपर्ने आवश्यकता छैन ।” यस वर्षको परीक्षामा पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी भएका छन् ।