काठमाडौँको इन्द्रायणी (लुःती अजिमा) मन्दिरको तेस्रो छाना ढल्यो

विनाशकारी भूकम्पमा परी काठमाडौँ महानगरपालिका–१७ स्थित ऐतिहासिक इन्द्रायणी (लुःती अजिमा) मन्दिरको तेस्रो छाना ढलेको छ । मन्दिरको छानामात्र होइन मन्दिरको भित्री तथा बाहिरी भागको भित्तासमेत चर्किएको इन्द्रायणी संरक्षण समितिका राजु देउलाले जानकारी दिनुभयो । विष्णुमति नदी किनारा ढल्को अवस्थित प्यागोडा शैलीमा निर्मित उक्त मन्दिर एक हजार वर्षभन्दा बढी पुरानो हुनुपर्ने बताउँदै उहाँले विसं २०४२ सालमा मन्दिर जीर्णोद्वार गरिएको र त्यस बखत गजुरमा करिब ७० तोला सुनको जलप लगाइएको बताउनुभयो । तीन छाना भएको मन्दिरको तेस्रो छाना भत्किएर दोस्रो छानामा अडिएको छ, छानामा रहेको गजुर र पुरातात्विक सामग्री सुरक्षा गर्नका लागि सम्बन्धित निकाय, वडा कार्यालय, पुरातत्व विभाग, महानगरपालिकालगायतमा पहल गरिसकिएको छ । यही वैशाख १२ गते र १३ गते आएको ठूलो भूकम्पका कारण उक्त छाना केहीमात्रामा ढलेको र वैशाख २९ गते आएको अर्को भूकम्पले पूर्णरुपमा छाना ढलेको हो । मन्दिर जीर्णोद्वार हुनुभन्दा पहिले झिँगटीको छाना भएको र जीर्णोद्वारपछि तीनवटै छानामा तामाको पाताको छाना राखिएको मन्दिरका पुजारी पुष्प देउलाले जानकारी दिनुभयो । काठमाडौँमा रहेका छवटा शक्तिपीठ स्वेतकाली, रक्तकाली, कँकेश्वर, भद्रकाली, लुचुभुलु र इन्द्रायणी रहेको बताउँदै पुजारी पुष्प देउलाले अन्य मन्दिरको तुलनामा यो मन्दिरमा बढी क्षति भएको बताउनुभयो । भूकम्पका कारण इन्द्रायणी परिसरमा रहेका लक्ष्मीनारायण र गौरीशङ्कर मन्दिरसमेत भत्केको छ ।