वर्षात् अघि घर, टहरा बनाइसक्न एमाले अध्यक्षको जोड, जस्तापाता माग्दै एमाओवादी


????????????????नेकपा (एमाले) अध्यक्ष केपी ओलीले भूकम्प प्रभावित जिल्लामा वर्षात्अघि नै अस्थायी घर, टहरा बनाउन र व्यवस्थितरुपमा स्वयंसेवक परिचालनको योजनाका साथ काममा जुट्न आह्वान गर्नुभएको छ । एमालेकोे भूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको बैठकलाई आज निर्देशन दिंदै उहाँले युवा, विद्यार्थी र अन्य विभिन्न क्षेत्रबाट स्वयंसेवक प्रभावित क्षेत्रमा पुगेर सन्देशमूलक ढंगले काम गरिरहेको, तर योजनाबद्ध र व्यवस्थितरुपमा पार्टीले यस कामलाई अघि बढाउन जरुरी रहेको बताउनुभएको हो । समितिका संयोजक तथा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय परिसरको त्रिपालमुनि भएको समितिको बैठकमा अध्यक्ष ओलीले पार्टीका तर्फबाट राहत उद्धार कार्यमा भइरहेका प्रयास, निर्णय र परिचालनबारे जानकारी लिनुभएको थियो । उहाँले करिव सात लाख घर भत्केका तथा सात हजारभन्दा बढी विद्यालय भवन र उल्लेख्य रुपमा सरकारी कार्यालय क्षतिग्रस्त भएकाले करिव २० लाख बण्डल जस्तापाता अस्थायी निर्माणका लागि आवश्यक भएको हुँदा त्यसको प्रबन्ध गरेर सबै प्रभावित जनसमुदायलाई खाना, छाना र अत्यावश्यक अन्य प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा समितिले वैशाख १२ गते यता गरेका विभिन्न नीतिगत निर्णय, पत्राचार, सुझाव र समग्र पहलकदमीका बारेमा जानकारी गराउँदै संयोजक पोखरेलले पार्टीले स्वयंसेवक परिचालनको व्यवस्थित नीति बनाई अविलम्ब निश्चित अवधि तोकेर प्रभावित क्षेत्रमा पठाउने तथा सरकारका तर्फबाट स्वयंसेवकलाई आधिकारिक परिचय–पत्र उपलब्ध गराएर खटाउनेलगायतका सुझावका आधारमा छिट्टै यस काममा अघि बढ्ने बताउनुभएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
जस्तापाता माग
एकीकृत नेकपा (माओवादी) ले आफ्ना सबै सभासद्लाई भूकम्प प्रभावित जिल्लामा राहत वितरणका लागि परिचालन गर्ने भएको छ । एमाओवादीको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित १४ जिल्लामा आफ्ना सबै सभासद्लाई परिचालन गर्ने निर्णय गरेको हो । राहत वितरण प्रक्रिया प्रभावकारी नभएको, विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा राहत वितरणमा चरम राजनीतिकरण भएको भन्दै एमाओवादीले कुनै पनि कमजोरी नगर्न र निष्पक्षरुपमा राहत वितरण गर्न सरकारसँग माग गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । राहत वितरण प्रक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाउन र आवश्यक समन्वय तथा पुनःनिर्माण प्रक्रियालाई प्रत्यक्ष रुपमा नेतृत्व गर्ने हिसाबले केन्द्रीय नेतालाई यसअघि नै दिइएको जिम्मेवारीलाई यथावत राख्दै ती नेताको मातहत रहने गरी सभासद्लाई परिचालन गरिने उहाँको भनाइ छ । एमाओवादीले यसअघि नै भूकम्प प्रभावित १४ जिल्लाका लागि केन्द्रीय कमाण्डर नै तोकेर पठाएको थियो । यस्तै, एमाओवादीले मनसुन अगावै भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न र निःशुल्क रुपमा जस्तापाता वितरण गर्न समेत सरकारसँग माग गरेको छ । जस्तापाता उत्पादन गर्ने कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गराउन, तथा नपुगेका जस्तापाता छिमेकी मुलुकबाट आयात गरी हिमाली दुर्गम स्थानमा हेलिकोप्टरमार्फत पु¥याउन र सुगम स्थानमा स्थलमार्गबाट पु¥याउन संसदीय दलले आग्रह गरेको छ । राहत, पुनःनिर्माणलगायत कामलाई सरकारी संयन्त्रमार्फत नै प्रभावकारी रुपमा अगाडि बढाउन र सो प्रक्रियामा खटिएकालाई पारदर्शी र व्यावहारिक बनाउन पनि दलले आग्रह गरेको छ । केही जिल्लामा राहत वितरण प्रक्रियामा व्यापक राजनीतिकरण गरिएकाले पीडितले राहत नपाएको भन्दै एमाओवादीले त्यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षलाई सचेत गराएको पोखरेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]