प्रधानमन्त्रीसहित दुई उपप्रधानमन्त्री र विपक्षी नेताहरु भूकम्प प्रभावित क्षेत्रमा, नवनिर्माणको अठोट

प्रधानमन्त्री सुशील कोइरालाले मित्रराष्ट्रको सहयोगमा पुनः निर्माणको काम थालिने बताउनुभएको छ । यही वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनबाट प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा आज सदरमुकाम चरीकोट आइपुग्नुभएका प्रधानमन्त्री कोइरालाले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि मित्रराष्ट्रको सहयोग लिने उहाँले बताउनुभयो । “मलाई राष्ट्र दुखेको चिन्ता छ, दुःखद् परिस्थितिमा एकताको खाँचो छ”–उहाँले भन्नुभयो । विपद्को अवस्थामा सबैलाई एक हुन पाठ सिकाएको र अहिलेको अवस्थामा सबै पार्टीबीच एकताको खाँचो रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाली सेनाले गरेको कामको सरहानासमेत गर्नभयो । प्रधानमन्त्रीका साथ चरीकोट पुग्नुभएका एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दीर्घकालीन योजना बनाएर अब नयाँ नेपाल निर्माण गर्नुपर्छ भन्नुभयो । प्रधानमन्त्रीका साथ मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह पनि हुनुुहन्थ्यो । सो अवसरमा सभासद् पार्वत गुरुङ, एमाओवादीका केन्द्रीय सदस्य गङ्गा कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति ताराबहादुर कोइराला र नेकपा (एमाले)का जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेललगायतले भूकम्पपीडितलाई तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न माग गर्दै अहिलेकै अवस्थामा विद्यालय सञ्चालन गर्न सम्भव नभएकाले अस्थायी बसोबासको व्यवस्था गरेर मात्र विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।