यो जमिन धाँजा फाटेको विषयमा भौगर्भिक अध्ययन गर्न समिति गठन


earth_5यही वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षति भएको अरनिको राजमार्गअन्तर्गत कौशल्टार–लौकिन्थली सडकखण्डमा चिरा (धाँजा) परेको खण्डमा भौगर्भिक अध्ययन गरिने भएको छ । विनाशकारी भूकम्पका कारण लौकिन्थली आकासेपुलदेखि कौशलटारको आकासेपुलभन्दा १०० मिटर पूर्वसम्म करिब एक फिटदेखि तीन फिटसम्म ठाउँठाउँमा छ लेन सडक र त्यस क्षेत्रका वरिपरिको जमिनसमेत धाँजा परेको थियो । उक्त धाँजा (चिरा) परेको जमिन ‘फल्ट’ हो वा ‘ग्राउन्ड मुभमेन्ट’ हो भन्ने बारेमा विस्तृत अध्ययन गर्न मध्यपुर इन्जिनियरिङ समाजका तर्फबाट भूकम्प इन्जिनियर सत्यसुन्दर श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय अध्ययन टोली गठन भएको छ । टोलीमा संरचना इन्जिनियर सुजन श्रेष्ठ, दिलीप गःसी, जियोटेक इन्जिनियर सनोज भट्टराई, भूकम्प इन्जिनियर प्रकाश गुरागाईं, भूगर्भविद् प्रमिला श्रेष्ठ, रास जोशी, सिभिल इन्जिनियर सूर्य प्रजापति र शङ्कर प्रजापति रहेका छन् । संयोजक भूकम्प इन्जिनियर श्रेष्ठले निकट भविष्यमा टोलीले काम थालनी गर्ने र विस्तृत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो । इन्जिनियरिङ समाजको सक्रियतामा यसअघि मध्यपुर थिमि क्षेत्रका घरमा ¥यापिट एसिसमेन्ट (भूकम्पबाट चर्केका घरमा बस्न हुन वा नहुनेबारे) अध्ययन गरिसकेको बताउँदै उहाँले उक्त कार्यका लागि स्ट्रकचर इन्जिनियर पाँचजनाको नेतृत्वमा पाँचवटा टोली गठन गरी ५० जना इन्जिनियरले मध्यपुर थिमिको एकदेखि १७ वटासम्मको करिब ५०० घरमा जाँच गरिसकेको बताउनुभयो । यही वैशाख १२ र २९ गतेको गएको विनाशकारी भूकम्पका कारण मध्यपुर थिमिमा धेरै घर भत्किएको र अधिकांश घर बस्न नहुने गरी चर्केको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?