चारवटा घरका धनी अहिले कोठा खोज्दै, कोठा नपाएर विचल्ली


????????????????????????????????????????????????????????????????????????????????????????????????????????“घर थिएन भनुँ भने चारवटा घर थियो, छ भनँु भने बस्नलाई घर छैन । डेरा खोज्दै हिँडेको १० दिन भयो, आजसम्म डेरा पनि पाएको छैन, भाइहरूको समेत गरी १९ जनाको परिवार छ । कहाँ जाउँ के गरुँ, कसो गरुँ भएको छ । यही वैशाख १२ गते गएको भूकम्पका कारण बस्ती पूरै ध्वस्त भएको छ ।” भत्किएका घरका भग्नावशेष केही हटाइए पनि धेरै बाँकी रहेको छ । कत्रो सान थियो, आज घर भएको सुकुम्बासी नै भएको छु । मनसुन सुरु हुन लाग्यो, लालाबाला छन् कहाँ लगेर राखँु भएको छ । भूकम्पले भत्काएको घर अगाडि टोलाइरहेका भक्तपुर गलसी पुखुः(पोखरी)का तुलसीनारायण दण्डिख्या आफ्नो वेदना यसरी पोख्नुहुन्छ । भूकम्पले ८८ वर्षीय आमाको प्राण लुट्यो । हामीलाई टुहुरा बनायो, घरबास उठ्यो, प्राकृतिक विपत्तिले दिएको पीडा र मानसिक प्रताडनालाई शब्दमा उतार्न सकिँदो रहेनछ । भूकम्प आएको दिन खाना खाएर चोकमा मात्रै निस्केको थिएँ ।” आमा भन्दाभन्दै भूकम्पले आमाको प्राण पखेरु लुट्यो । आमालाई बचाउन सकिन्छ भन्ने लागेको थियो । तर पटक–पटकको पराकम्पनले आमालाई निकाल्न सकिन । भाइहरू पनि घरमा थिएनन् । श्रीमतीले आमा माथि हुनुहुन्छ भनेको पनि थाहा छ, चार घन्टासम्म माथिल्लो तलामा पुग्न सकिन । हेर्दाहेर्दै आँखा अगाडि नै बस्तीका पूरै घर ढल्यो दण्डिख्याले वैशाख १२ गतेको स्मरण गर्नुभयो । डोजर, स्काभेटर तथा प्राविधिक उपकरण नहुँदा भत्केका घर पनि पन्छाउन सकेका छैनन् भक्तपुर गोलमढी टोलवासीले । राहतका नाममा दुई चार पोका चाउचाउ मात्रै पाइएको छ । सरकारले दिने भनेको राहत कस्तो हो आजसम्म देख्न नपाएको गुनासो छ, स्थानीयवासीको । दण्डिख्या स्थानीय महाकाली नाच संयोजन समितिका अध्यक्ष हुनुहुन्छ । प्राकृतिक विपत्तिले परम्परागत नाचमा प्रयोग हुने सामग्रीको पनि नाश भएको छ । परम्परा संरक्षणमा पनि विशेष ध्यान दिएको बताउनु हुने दण्डिख्या हाल स्थानीय एक गार्मेन्टमा अस्थायी रूपमा बसिरहनुभएको छ । तर भत्केको घर कसरी हटाउने र नयाँ बास कसरी खडा गर्ने भन्ने चिन्ताले सताएको छ । दण्डिख्याका भाइ कृष्णहरि, राजेन्द्रको हालत पनि उस्तै छ । मन खुसी छैन, भएको सबै सम्पत्ति सकियो । अब कसरी घर बनाउने, भत्केका संरचना कसरी पुनःनिर्माण गर्ने पिरलो थपिएको छ लस्करै भत्किएका घरले गिज्याएजस्तो लाग्छ रे उहाँलाई । कुन घरबेटीको सामान हो, कुन कोठा भाँडामा बस्नेको सामान हो छुट्याउन नसक्दा डोजर लगाएर भग्नावशेष हटाउन पनि नसकिएको बताउनुहुन्छ सो टोलका अर्का स्थानीयवासी श्यामकृष्ण ग्वाँछ । भक्तपुर पसिखेल डम्पिङ साइडको फोहरको चर्को गन्ध आइरहेको छ । ज्यानको मायाले फोहर सामान्य जस्तै लाग्न थालेको छ । फोहर नजिकै भूकम्पपीडित चार परिवार आश्रय लिएर बसेका छन् । तीमध्येकी एक हुन् ज्ञानुमाया शाही । “बस्ने घर भत्कियो, बस्ने ठाउँ छैन, त्यही भएर दुर्गन्ध सहेर बसेका छौँ”, शाहीले भन्नुभयो । सिन्धुपाल्चोक भिमटारकी सानुकान्छी दनुवारको भाँच्चिएको खुट्टा घिसार्दै डम्पिङ साइटलाई आश्रय बनाउनुभएको छ । गाउँको घर पनि भूकम्पले लग्यो, श्रीमान् मजदुरी काम गर्नुहुन्छ । यहाँ पनि बस्ने ठाउँ छैन, चार महिना अगाडि भाँच्चिएको खुट्टा भूकम्पमा दौडिँदा पुनः दुख्न थालेको छ । घरबेटीहरूले राहत पायने भए, हामी कोठामा बस्नेहरूले केही पनि पाएनौँ । रासस प्रतिनिधिलाई उहाँले आफ्नो पीडा एकै श्वासमा पोख्नुभयो । भूकम्पले कुनै पनि प्रभाव नपारेका र भौतिक क्षतिसमेत नभएकाहरूले समेत राहत लिएपछि भक्तपुरको टोल–टोलमा लेखिएको छ “भूकम्पपीडित नभएका व्यक्तिले राहत लिएमा आफ्नै पिण्ड खाएको बराबर हुनेछ–भूकम्पपीडित ।”भूकम्पले भत्काएको मन, भत्काएका बस्ती र टोलका आ–आफ्नै पीडा छन्, कतै राहत धेरै भएको, कतै राहत नपाएको गुनासो पनि उत्तिकै छ । तर भोट माग्ने बेलामा घरघरै पुग्ने राजनीतिक दल र तीनका कार्यकर्ता आफूहरूको पीडामा देखा नपरेको भन्दै भक्तपुरका भूकम्पपीडित थप आक्रोशित बनेका छन् । सो आक्रोसलाई राजनीतिक नेतृत्वले कसरी सम्बोधन गर्लान् त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?