भूकम्पको पछिल्लो पराकम्पनबाट एकको मृत्यु, भूकम्पको पराकम्पन रोकिएपछि जात्रा सुरु हुने


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????आइतबार अपराह्न ३.२३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताउनुभयो । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । सो सङ्ख्यासहित ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ ।
यसैबीच, वर्षा र सहकालको देवताको रूपमा मानिने रातो मत्स्येन्द्रनाथको रथजात्रा भूकम्पको पूर्ण पराकम्पन रोकिएपछि मात्र सुरु हुने बताइएको छ । गत वैशाख ६ गते रथमा मूर्ति रथारोहण गरेपछि सुरु भएको रथजात्रा वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण बुङ्मतीको सासीकोटमा गएर रोकिएको थियो । ठूलो भूकम्पसँगै स–साना पराकम्पन आइरहेका कारण रातो मत्स्येन्द्रनाथको जात्रा रोकिएको मत्स्येन्द्रनाथका पुजारी एवम् ३२ पानेजु सङ्घका कोषाध्यक्ष मदन शाक्यले बताउनुभयो । उहाँका अनुसार विसं १९९० सालमा आएको महाभूकम्पपछि करिब एक महिनासम्म आएको पराकम्पन रोकिएपछि मात्र रथ जात्रा सुरु गरिएको बताउँदै हालै आएको भूकम्पको पराकम्पन कहिलेसम्म आउने हो भन्ने यकिन नभएकाले रथ जात्रा रोकिएको बताउनुभयो । पराकम्पन रोकिएपछि रातो मत्स्येन्द्रनाथलाई स्वस्तिशान्ति र क्षमा पूजा गरेपछि मात्र रथ जात्रा सुरु गर्न सकिने परम्परा रहेको उहाँले बताउनुभयो । उक्त रथजात्रा जावालाखेल हुँदै पुल्चोक, गाःवहाल, मङ्गलबजार, पाटन सुन्धारा, लगनखेल, कुमारीपाटी भएर पुनः जावलाखेलमा आएको चार दिनपछि मात्र भोटो जात्रा देखाइने गरेको पानेजु शाक्यले बताउनुभयो । यसवर्ष १२ वर्षे मेला भएकोले पुनः जावलाखेलबाट रथ तानेर बुङ्मतीमा ल्याइपु¥याएको चार दिनपछि भोटो देखाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।
भोटो खोज्ने क्रम जारी
भूकम्पका कारण रातो मच्छिन्द्रनाथको मन्दिर पूर्णरूपमा ध्वस्त भएकाले बहुमूल्य हिराजडित भोटोलगायत विभिन्न गरगहना पुरिएकाले खोज्ने क्रम जारी रहेको पुरातत्व विभागकी अधिकृत सविता न्यौपानेले बताउनुभयो । उहाँले खोजी कार्यलाई मन्दिरको पछाडि भागवाट सुरु गरिएको बताउनुभयो । मन्दिर भत्किएपछि प्रसिद्ध हिराजडितलगायत अन्य बहुमुल्य गरगहनाले भरिएको तामाको बाकस सिलबन्दी अवस्थामा पुरिएकाले उत्खनन् कार्यलाई अगाडि बढाइरहेको पुरातत्व अधिकृत न्यौपानेले बताउनुभयो । उत्खनन् कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुरातत्व विभाग, गुठी संस्थान, कार्यविनायक नगरपालिका, जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]