भूकम्पपीडितलाई टेलिकमको सत्ताइस करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ । प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । टेलिकमले कम्पनीका तर्फबाट रु २५ करोड, कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको रु दुई करोड ७५ हजार ४७४ र ९६ पैसा र सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ता बराबरको रु ८१ हजार ६०० गरी रु २७ करोड एक लाख ५७ हजारको चेक हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभयो । टेलिकमले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौँको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौँको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर एवम् भूकम्पबाट अतिप्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि रु एक अर्ब खर्च गर्ने प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो । यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पनि कोषमा जम्मा हुने गरी प्रधानमन्त्री कोइरालालाई रु पाँच करोडको चेक हस्तान्तरण गर्नुभएको थियो । एसियन डिस्टीलरीका अध्यक्ष विजय साहले रु एक करोड पाँच लाखको चेक कोषमा जम्मा गर्न प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।््