नेपाली सेनाद्वारा उद्धार, राहत तथा भग्नावशेष हटाउने कार्य जारी

नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् प्रभावकारी बनाउने सन्दर्भमा प्रधानसेनापति गौरव शम्शेर जवराले आज जङ्गी अड्डा परिसरमा पाकिस्तानी सेनाका मेजर जनरल अस्गर नवाज र हाल उद्धार कार्य प्रमुख कर्णेल लिम क्वाङ ताङसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सैनिक जनसम्पर्क निर्देशनालयको आज प्रकाशित विज्ञप्तिअनुसार भेटवार्ताको क्रममा प्रधानसेनापति श्री राणाले नेपाल समक्ष आइपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा मित्रराष्ट्रबाट आएका सैनिक विशेषज्ञ टोलीहरुले नेपाली सेनासँग संयुक्तरुपमा खोज, उद्धार, राहत तथा घाइतेहरुको उपचार सेवामा पु¥याएको अमूल्य सहयोगको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले भूकम्प पीडितको लागि खोज, उद्धार तथा राहत सामग्री वितरण गर्न हालसम्म नेपाली सेनाले गरिरहेको कार्य र अपनाएको विधिबारे जानकारी गराउनुभएको थियो । यसैगरी सैनिक श्रीमती सङ्घकी अध्यक्ष श्रीमती रोहिणी राणाले सङ्घको संयोजकत्वमा आज भक्तपुर जिल्लाको महामन्जुश्री नगरपालिका–९ मुझुवा इलाकाका भूकम्प पीडित २०० जना स्थानीय वासिन्दालाई संयुक्तरुपमा राहत सामग्री चिउरा–२०० किलो, भुजिया–३० किलो, मिनरल वाटर ४०० बोतल, अण्डा १५० क्रेट, त्रिपाल–९ वटा, ब्ल्याङ्केट ४० गोटा, विस्कृट २०० प्याक र म्याट्रेस पाँच वटा हस्तान्रतण गर्नुभएको छ । त्यसैगरी सङ्घले नेपाली सेनाको श्री फष्टराइफल गणको संयोजनमा विकट इलाका तथा बाटोले नछोएको नुवाकोट जिल्लाको लिखु, सिक्रे र महाकाली गाविसमा रहेको भूकम्प पीडित ४०० जना स्थानीय वासिन्दालाई चामल ४५०० किलो, दाल २५० किलो, नुन ३५० प्याकेट, कम्वल ४१० वटा र त्रिपाल १० वटा राहत स्वरुप वितरण गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज विभिन्न स्थानमा अलपत्र परेका सिन्धुपाल्चोक, धादिङ, दोलखा, र सोलुखुम्बु जिल्लाबाट १७ जना स्वदेशी नागरिक र एक जना विदेशी नागरिकलाई हवाई साधनबाट उद्धार गरेको छ । त्यसैगरी नेपाली सेना तथा मित्रराष्ट्र चीनको सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट भूकम्पबाट अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे तातोपानी सडक खण्ड (अरनिको राजमार्ग) खुलाउने कार्य सम्पन्न भई यातायात सुचारु भएको छ । त्यसैगरी आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली हेभी ईक्युपमेन्टसहित स्वयम्भु, हनुमानढोका, जैशीदेवल, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, शंखमूलस्थित जगतनारायण मन्दिर, पाटन दरवार , बुङ्मतिस्थित रातो मछिन्द्रनाथ, भत्तपुर दरवार स्क्वायर चाँगुनारायण मन्दिर र साँखु इलाकामा तीब्ररुपमा खोज, उद्धार तथा भत्किाएका भग्नावशेष हटाउने कार्यमा सक्रियाताका साथ परिचालन भएको छ । त्यस्तै सेनाले पुरातात्विक महत्वका संरचनाको भग्नावशेषमा रहेको महत्वपूर्ण वस्तुहरु फेला परेमा सम्बन्धित निकायको रोहवरमा सुरक्षित तवरले बुझाउने कार्य गर्दै आएको छ भने पुरातात्विक महत्वका संरचनाको सुरक्षार्थसमेत विभिन्न टोली अहोरात्र अटिरहेको छ । गोरखा जिल्लाको लाप्राक, सिन्धुपाल्चोक जिल्लाको चौतारा तथा रसुवा जिल्लाको धुन्चे इलाकामा नेपाली सेनाको मेडिकल टिमद्वारा धुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी भूकम्पबाट पीडित घाइते बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ भने त्यसैगरी अन्य मित्रराष्ट्रका मेडिकल टिमले गागलफेदी, गोकर्ण, टुँडिखेल, चुच्चेपाटी र सिन्धुपाल्चोक जिल्लाको सुकुटे तथा ठोकर्पा इलाकामा भूकम्पबाट पीडित घाइते बिरामीको उपचार गरिररहेको छ । साथै नेपाली सेना तथा मित्रराष्ट्र चीनको संयोजकत्वमा रहेको महामारी नियन्त्रण टोलीले काठमाडौँ तथा भक्तपुर जिल्लाको विभिन्न स्थानमा हाईजिन तथा स्यानिटेशनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै दुई वटा स्प्रेटिमसमेत परिचालन गरिएको छ । विभिन्न मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोली फिर्ता हुने क्रममा आजसम्ममा ९८२ जना खोज तथा उद्धार टोली स्वदेश फिर्ता भइसकेका छन् भने अन्य मित्रराष्ट्रका टोली क्रमिकरुपमा फिर्ता हुने क्रममा रहेका छन् ।