विमानस्थलमा राहत सामग्रीको मौज्दात कम हुँदै, हेलिकोप्टरको भीड

भूकम्प पीडितका लागि चारैतिरबाट राहत तथा उद्धार सामग्री आएको भनेर चर्चा परिचर्चा भइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अत्यावश्यक खाद्यान्नको मौज्दात अब धेरै नरहेको पाइएको छ । नेपाली सेनाको विमानस्थल समन्वय केन्द्रका अनुसार राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त अधिकांश सहयोग भूकम्प प्रभावित क्षेत्रमा पठाइसकिएकाले मौज्दात निक्कै कम रहेको छ । गृह मन्त्रालयको केन्द्रीय दैवी प्रकोप उद्धार समितिले निर्धारण गरेको कोटाअनुसार तोकिएको जिल्लालाई प्राथमिकताका आधारमा राहत सामग्री पठाएको बताइएको छ । मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट सहयोगस्वरुप पठाइएको पिउने पानी, चाउचाउ, बिस्कुट, भुजिया, धूलो दूध, कम्बल, त्रिपाल, पाल प्राप्त हुँदै आएका छन् । हाल भण्डारण कक्षमा ६०० थान त्रिपाल र दश टन मात्रै खाद्यान्न रहेको छ । चीनले राति अबेरसम्म तीनवटा विमानबाट थप राहत सामग्री उपलब्ध गराउने बुझिएको छ । अन्तर्राष्ट्रिय समुदायबाट भूकम्प पीडितका लागि पठाएका सामग्री विमानबाट भण्डारणस्थल र त्यहाँबाट कोटा निर्धारण गरी सम्बन्धित जिल्लामा पठाउने कार्यमा झन्डै पाँच सयको सङ्ख्यामा नेपाली सेना परिचालन हुँदै आएको छ । समन्वय केन्द्रले भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा राहत तथा उद्धार सामग्री पठाएको छ भने नुवाकोट, रसुवा, गोरखा, दोलखा, काभ्रेपलान्चोक, रामेछाप र ओखलढुङ्गामा पठाइएको छ । हालसम्म कुल १६१ उडानबाट दुई हजार २०० टन राहत सामग्री आएकोमा त्यसमध्ये आधा भन्दा बढी सम्बन्धित मुलुकको राहत तथा उद्धार टोलीका लागि चाहिने सामग्री रहेका छन् । ती उडानमा हेलिकोप्टर, सवारी साधन, टोलीका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामान, खोजका लागि आवश्यक पर्ने उपकरणहरु रहेको केन्द्रले जानकारी दिएको छ । चीन सरकारले उपलब्ध गराएको जेनेरेटर २८९ थानमध्ये भक्तपुरमा १० र अन्य केही ठाँउमा ५ वटा भन्दा बाहेक अन्यत्र कतै नपठाएको केन्द्रको भनाइ छ । भूकम्प पीडितका लागि प्राप्त भएका सामग्री कसरी छिटो सम्बन्धित जिल्लामा पठाउन सकिन्छ भनेर कार्यतालिका बनाएर अहोरात्र खटिँदै आएको विमानस्थलमा राहत व्यवस्थापनका लागि खटिनु भएका नेपाली सेनाका उपरथी सुन्दर पुडासैनीले जानकारी दिनुभयो ।
उडान नेपालमा बास केरुङमा
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर पार्किङका लागि स्थान साँघुरो भएपछि चिनियाँ हेलिकोप्टरको बास केरुङमा हुने भएको छ । भूकम्प पीडितको उद्धार र राहतका लागि आजै मात्र चीन सरकारले उपलब्ध गराएका तीन वटा एमआई १७ हेलिकोप्टर विमानस्थलमा अवतरण गरेका थिए । ती चिनियाँ हेलिकोप्टरले आज सिन्धुपाल्चोकमा राहत तथा उद्धार सामग्री पु¥याउन उडान गरेका थिए । चिनियाँ हेलिकोप्टरलाई सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा राहत तथा उद्धार सामग्री पु¥याउने जिम्मेवारी तोकिएको छ । विमानस्थलमा राहत सामग्री लिएर आएका विमानको उडान तथा अवतरण, राहत एवम् उद्धारमा जुटेका अन्य मुलुकका हेलिकोप्टरहरु उल्लेख्य सङ्ख्यामा रहेका कारण चिनियाँ हेलिकोप्टरका चालकले बासका लागि केरुङ लैजाने जानकारी दिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । नेपाली सेनाका ६, निजी क्षेत्रका ६, भारतबाट आएका १४ र अमेरिकाको ६ वटा हेलिकोप्टरले भूकम्पपछि राहत तथा उद्धारका लागि उडान भर्दै आएका छन् ।