कस्तो आयो भूकम्प देवी कुमारीको समेत बसाईं सर्ने बाध्यता

विनाशकारी भूकम्पका कारण वसन्तपुरस्थित जीवित देवी कुमारीको समेत बसाइँ सार्नु परेको छ । स्थानीय कुमारी घरको दुई तलामाथि बस्दै आउनुभएकी नौ वर्षीया कुमारीलाई आगन चोक नजिकैको भुईंतलाको सुरक्षित स्थानमा लगिएको हो । वासस्थानबाट कुमारीलाई बाहिर विशेष गरी इन्द्रजात्रामा रथारोहण गराई नगर परिक्रमा गराउने वेलामा मात्र निकालिन्छ । त्यसदेखिबाहेक सोही घरमा बसेर नै भक्तजनलाई दर्शन दिने परम्परा छ । बिहान ७ बजेदेखि ९ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म त्यहाँ आउनेलाई दर्शन गराइन्छ । अहिले दर्शनको कार्यक्रम भने स्थगन गरिएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष एवम् कुमारीको रेखदेख गर्दै आउनुभएका गौतमरत्न शाक्यले देशमा विपद् आएका समयमा कुमारीलाई सोही घरको सुरक्षित स्थानमा सार्नुपरेको र केही दिनपछि क्षमा पूजा गरी उहाँलाई यथास्थानमा पुनःस्थापना गरिने बताउनुभयो । भूकम्पले कुमारी घरमा भने कुनै नोक्सानी नभएको उहाँले जानकारी दिनुभयो ।