निजी क्षेत्रबाट राहत कि ठगी ?

निजी क्षेत्रका सरोकारवालाले काठमाडौँमा खाद्यान्न, ग्यास र पानीको अभाव नहुने बताएका छन् । उनीहरुले देश शोकमा डुबेको यो समय कमाउने समय होइन भन्दै पैसाको पछि लागेर ठगी गर्ने व्यापारीमाथि कार्बाहीको माग गरेका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘निजी क्षेत्रबाट राहत कि ठगी श्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रा बज्राचार्यले वर्तमान समयमा निजी क्षेत्रका कोही कसैले कमाउने उद्देश्य राख्न नहुने बताउनुभयो । उहाँले आपतको घडीमा सबैले राहत दिनुपर्ने उल्लेख गर्दै सानोसानो रकमको लोभमा ठगी गर्ने व्यापारीमाथि कार्बाहीको माग गर्नुभयो । उहाँले भूकम्पका कम्पनका कारण पसलहरु कम खुलेको बताउँदै आफूहरुले पसल सूचारु गर्नका लागि अभियान सञ्चालन गरेको बताउनु भयो । काठमाडौँमा खाद्यान्न प्रसस्त रहेको बताउँदै उहाँले कैयौँ दिन सामान नआए पनि काठमाडौँमा समस्या नहुने उल्लेख गर्नुभयो । गोदाममा सामान प्रसस्त भएको भन्दै उहाँले स–साना किराना पसलमा सामान सकिएपनि नआत्तिन आग्रह गर्नुभयो । पूर्णरुपमा यातायात सूचारु नहुँदा र खुद्रा व्यापारीको घरमा पनि भूकम्पको समस्या परेका कारण उपभोक्ताले त्यसैअनुसार धैर्यता अपनाउनुपर्नेमा जोड दिनुभयो । तथापी आफूहरुले पसल सञ्चालन गर्नका लागि अभियान नै चलाएका कारण अब सामानको अभाव नहुने उहाँको भनाइ थियो । कार्यक्रममा ग्यास विक्रेता महासङ्घका निवर्तमान् अध्यक्ष ज्ञानेश्वर अर्यालले काठमाडौँमा ग्यास प्रसस्त मात्रामा रहेको भन्दै ग्यास अभाव नहुने बताउनु भयो । उहाँले देश कठिन मोडमा रहेका बेला सबै ग्यास बिक्रेतालाई सर्वसुलभ ढङ्गले ग्यास उपलव्ध गराउन आग्रह गर्नुभयो । यस्तो अवस्थामा कुनै ग्यास विक्रेताले उपभोक्तामाथि ठगी गर्छ भने त्यस्ता विक्रेतालाई महासङ्घले कार्बाही गर्ने उहाँको भनाइ छ । ‘आपतविपतको समय कमाउने समय होइन, सहयोग गर्ने समय हो’, ‘राहत दिने, सहयोग गर्ने काममा लाग्ने समयमा कोही ठगी गरेर कमाउनतिर लाग्छन् भने त्यस्ता व्यक्तिलाई कार्बाही गर्नुपर्छ ।’ अर्यालले दुःखको अबस्थामा दुखेको ठाउँसम्म ग्यास पु¥याइदिनसमेत ग्यास विक्रेतालाई आग्रह गर्नुभयो । नेपालको निजी क्षेत्रले अप्ठ्यारो अवस्थामा सहयोग गरिरहेको बताउँदै उहाँले केही व्यक्ति खराव भएका कारण सिंगो निजी क्षेत्रमाथि दोषारोपण नगर्न पनि आग्रह गर्नुभयो । तर आपूmहरु ठगी गर्नेका विरुद्धमा उत्रिन तयार रहेको उहाँको भनाइ छ । कार्यक्रममा काठमाडौँ खानेपानी संस्था केयूकेलका अध्यक्ष सुरेश बस्नेतले काठमाडौँमा तत्कालै कुनै किसिमको खानेपानीको समस्या नरहने बताउनु भयो । उहाँले केयूकेलले वितरण गरेको पानी पिउन योग्य भएको भन्दै पिउन योग्य नहुने पानी वितरणमा आफूहरुले रोक लगाएको बताउनु भयो । पानीका कारण विभिन्न रोगहरु लाग्न सक्ने भन्दै पिउने पानी र अन्य प्रयोग गर्ने पानीमा सावधानी अपनाउन आग्रह पनि गर्नुभयो । पिउन योग्य नभएको पानी नपिउन आग्रह गर्दै उहाँले भूकम्प गएका ठाउँहरुमा पानी तताएर मात्रै पिउन पनि अनुरोध गर्नुभयो । भूकम्पबाट पिउने पानीमा पनि कहिँकतै क्षति भएको हुनसक्ने उल्लेख गर्दै उहाँले केयूकेलले तत्कालीन अबस्थामा काठमाडौँमा पानीको अभाव हुननदिने बताउनु भयो ।