अझै सगरमाथा चढ्न चाहन्छन् आरोही, ५ सय १० जना आधार शिविरमै

देशका विभिन्न भागमा भूकम्पको प्रभाव परेपनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा कुनै समस्या नहुने भएको छ । साहसी आरोहीहरू भूकम्पको कुनै प्रभाव नगरी सगरमाथाको आधारशिविर र आसपासमै रहेको र उनीहरूले आरोहणलाई निरन्तरता दिने पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक तुलसी गौतमले सगरमाथाको क्षतिग्रस्त हिउँको ढिस्को (आइफल) को बाटो खुलाउने कार्य सुरु भएकाले आरोहण नरोकिने जानकारी दिनु भयो । “आइसफलको बाटो बनाउन टोली पुगिसकेको छ, बाटो बनाउने नाइकेसँगै मैले कुरा गरेको छु, अवरुद्ध बाटो बनाउँदा समय लाग्ने भएकाले एक हप्ता ढिलो आरोहण शुरु हुन्छ तर आरोहण रोकिन्न अहिलेसम्म कसरी फर्कने जानकारी गराएका छैनन्,”–उहाँले भन्नुभयो । विभागका अनुसार भूकम्पका कारण आधारशिविर माथितिरबाट २१० जना आरोहीलाई उद्धार गरी आधारशिविर र त्यसभन्दा तलतिर सुरक्षित स्थानमा राखिएको छ । सगरमाथा आरोहणका लागि ४२ वटा टोलीका ५१० जना आरोही आरोहण अनुकूलको पर्खाइमा रहेका छन् । सहयोगी शेर्पासहित करिब ८०० जना त्यहाँ रहेको बताइएको छ । हिमाल आरोहणका लागि मे महिनाको दोस्रो हप्ता र अन्तिम हप्ता उपयुक्त मानिन्छ । सगरमाथा पोलुसन कन्ट्रोल कमिसन (एसपिसीसी)ले सगरमाथा आरोहणका लागि बाटो बनाउने जिम्मा पाएको छ । उसले डोरी टाँगेर बाटो बनाउने काम गर्छ । गत शनिबार गएको विनासकारीको भूकम्पले सगरमाथाको आधार शिविरमा हिमपहिरो जाँदा शिविरमा बसेका १८ जना पर्यटक तथा सहयोगी शेर्पाहरूको निधन भएको थियो । तीमध्ये छ जना विदेशी (अमेरिकाका तीन, चीन, जापान र अस्ट्रेलियाका एक–एक) पर्यटक रहेका छन् ।