सिन्धुपाल्चोकको दर्द सार्वजनिक, पीडितले मागे त्रिपाल र औषधि

“जहाँतहीँ त्यस्तै भएको छ होला, सरकारले सबैलाई के दिन सक्ला र ? त्रिपाल र औषधिसम्म भयो भने एउटा बस्ने आधार हुन्थ्यो” आफ्नो टोलको भूकम्पमा पाँच आफन्त गुमाएर पूर्ण रुपमा ध्वस्त बस्ती देखाउँदै सिन्धुपाल्चोक शिखरपुर माझीगाउँका सुवास माझीले भने । माझीको जस्तै भूकम्पमा परेर आफ्नो थातथलो, आफन्त र चौपाया गुमाएका धेरै सिन्धुपाल्चोकवासीको भनाइ हो यो । माझीगाउँ शनिबार मध्याह्न गएको विनाशकारी भूकम्पका कारण पूर्ण रुपमा ध्वस्त भएको छ । सो गाउँमा पाँचको निधन भएको छ भने चौपाया सबै मरेका छन् । खाद्यान्न कुरा छैन, ओत, लाग्ने स्थान छैन । भूकम्पका कारण मरेका चौपाया गन्हाउन थालेका छन् । भूकम्प पीडित खुला आकाशमुनि दिनरात कटाइरहेका छन् । सो स्थानमा हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि राहत लिएर पुगेका छैनन् । सोमबार स्थानीय प्रहरी प्रशासन तथ्याङ्क सङ्कलनका लागि सो गाउँका पुगे पनि हालसम्म कुनै पनि राहतको व्यवस्था हुन सकेको छैन । शनिबार आएको भूकम्पले मुलुकका अन्य भूभागलाई पनि त्यत्तिकै प्रभाव पारेको छ तर सिन्धुपाल्चोकसँग भने बढी बदला लिएको छ । आफन्त गुमाएकाहरु गहभरि आँसु पार्दै नयाँ मान्छे देख्नेबित्तिकै उत्सुक भएर आफ्ना कुरा सुनाउन र राहतको कुरा गर्न झुम्मिहाल्छन् ।
सिन्धुपाल्चोकवासीले व्यहोरेको विपत्लाई शब्दमा उतार्न मुस्किल छ, तर यो बाध्यता बनेको छ । सो जिल्लामा हालसम्म एक हजार ३०० जनाको निधन भएको छ भने सामान्य र गम्भीर गरी दश हजारभन्दा बढी घाइते भएका छन् । प्रजिअ कृष्ण ज्ञवालीका अनुसार ४० हजारभन्दा बढी घर ध्वस्त भएका छन् । उहाँले भन्नुभयो, “स्थिति भयावह छ, मौमस बिग्रिएकाले उद्धार तथा राहत प्रदान गर्न कठिन भएको छ, नेपाली सेना र प्रहरी गरी एक हजार ५०० परिचालन गरिएको छ, आज मात्रै एक सय थान पाल प्राप्त भएकाले अब कसरी वितरण गर्ने भन्ने बारेमा समस्या परेको छ ।” राष्ट्रिय समाचार समिति (रासस)को विशेष टोली स्थलगत समाचार सङ्कलनका क्रममा सिन्धुपाल्चोकको उत्तरी क्षेत्रका केही स्थानमा पुग्दा त्यहाँको स्थिति एकदमै भयावह रहेको पाइयो । जिल्लामा उद्धारका लागि एक हेलिकोप्टर उपलब्ध गराइएको छ । स्थानीयवासी के गर्ने कसो गर्ने, कसलाई गुहार्ने अवस्थामा रहेका छन् । मेलम्ची नगरपालिका वडा नं १२ बगुवाका टोमशङ्कर दुलालले भने, “हामी त के गर्ने के नगर्ने अवस्थामा पुगेका छौँ, बस्ने घर छैन, खाने कुरा छैन, पाल हालेर बसेका छौँ ।” उनको आँगनमा नै चार जनाको निधन भयो । हालसम्म कुनै पनि राहतको व्यवस्था हुन नसकेको जानकारी दिँदै स्थानीय गणेश दाहालले सो क्षेत्रमा रहेका ६०५ घरमध्ये पाँच घर मात्रै बाँकी छ । अर्का स्थानीयवासी बालकृष्ण दाहाल भन्छन्, “त्रिपालमुनि बसेका छौँ, हालसम्म कहीँकतैबाट राहत पाउन सकिएको छैन ।” भूकम्पबाट बचेका चौपाया केही घाइते छन् । केही अझै पनि खण्डहर बनेको घर गोठभित्र गन्हाउन थालेका छन् । यस्तै स्थानीय थकनीमा रहेको खनालगाउँ पनि विपत्तिका कारण पूर्ण रुपमा ध्वस्त भएको छ । स्थानीय कृष्णप्रसाद खनालले भने, “हाम्रो गाउँमा ९३ वर्षीया वृद्धासहित तीन जनाको निधन भयो, खाद्यान्न केही छैन, लगाएको कपडाबाहेक एक धरो पनि बाँकी रहेन, अर्को ठाउँमा जाने अवस्था रहेन, हामी उपलब्ध सामान्य पाल टाँगेर बसेका छौँ ।” कुनै पनि गाउँमा बिजुली छैन, औषधिमूलो छैन, पानी तताएर खुला पालमुनि दिन रात कटाउन बाध्य छन् उनीहरु । थकनीमा श्रीकृष्ण उच्चमावि पनि पूर्ण रुपमा ध्वस्त भएको चितवन घर भएका शिक्षक परशुराम घिमिरेले जानकारी दिए । उहाँले बस्तीमा रहेका २५ घर नै पूरै सखाप भएकाले विद्यालय सञ्चालन गर्ने कुनै पनि अवस्था नरहेको भन्दै पहिले त्रिपाल र खाने बस्ने वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । ‘‘सरकारले यथाशीघ्र राहत प्रदान गर्नुप¥यो, विद्यार्थीको घर बनेपछि मात्रै विद्यालय सञ्चालन गर्न सकिन्छ”– घिमिरेले भने । यस्तै मेलम्ची नगरपालिका–४ सिन्धुभदौरेमा २६ घर नै पूर्ण रुपमा ध्वस्त भएको छ तर मानवीय क्षति भने कुनै पनि भएको छैन । चौपाया पुरिएका छन् भने खाद्यान्न, लत्ताकपडा केही पनि बाँकी छैन । यस्तै स्थानीय ढुङ्गेछापमा रहेका सबै घर ध्वस्त भएको र एकै गाउँमा पाँच जनाको ज्यान गएको ओमबहादुर रायमाझीले जानकारी दिए । भूकम्पले मेलम्ची बजारमा रहेका पुराना घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने नयाँ र अलिक बलिया ठानिएका भवन तथा संरचनासमेत बस्नयोग्य छैनन् । स्थानीयवासी सविन दुलालले राससका अध्यक्ष कुलचन्द्र वाग्लेसहित स्थलगत रुपमा समाचार सङ्कलनका लागि पुगेको टोलीसँग भने, “ग्रामीण क्षेत्रका करिब ९९ प्रतिशत घर भत्किएका छन्, हालसम्म कुनै पनि राहत सामग्री प्राप्त हुन सकेको छैन, राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि आआफ्नै ध्याउन्नामा लागेका कारण उद्धारमा जुट्न सकेका छैनन् ।” भूकम्पका कारण पीडित स्थानीयवासी समान रुपमा राहत वितरणको पर्खाइमा छन् । उनीहरुले सरकारसँग धेरै ठूलो अपेक्षा तत्काल गरेका छैनन्, त्रिपाल र औषधिमूलोको व्यवस्था गरिदिन माग गरेका छन् ।