सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो क्षति देखियो, १३ सयको मृत्यु

सिन्धुपाल्चोकमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । मृतकमध्ये एक हजार १७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७०० को हाराहारीमा घाइते भएका छन् । भूकम्पका कारण प्रहरीको समेत मृत्यु भएको, प्रहरी चौकी क्षतिग्रस्त भएको र सञ्चार सम्पर्क विच्छेद भएको कारण तथ्याङ्क सङ्कलनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिनुभयो । “हामीलाई अहिले उद्धारको काम गर्न बाहिरबाट ठूलो जनशक्ति आवश्यक छ¬”–उहाँले भन्नुभयो । सञ्चार सम्पर्क नहुँदा राजनीतिक पार्टीहरुसँग समेत समन्वय गर्न गाह्रो भएको उल्लेख गर्दै प्रजिअ ज्ञवालीले उद्धार गर्न हेलिकप्टरको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले सिन्धुपाल्चोकमा रहेका ९० प्रतिशत कच्ची घर ध्वस्त भएको र विस्तृत विवरण आउँन बाँकी रहेको उल्लेख गर्नुभयो । जिल्लाका बाह्रविसे प्रहरी चौकी क्षतिग्रस्त भएको छ भने गाउँगाउँमा सञ्चार सम्पर्क नहुँदा उद्धार कार्य पूर्णरुपमा प्रभावित भएको छ । उद्धारका लागि निजी कम्पनी र भारतीय हेलिकप्टरसमेत प्रयोगमा ल्याइएको छ । जिल्लाको जलवीरे, तातोपानी, शेर्पाथाङ, बाँसखर्क, फूलपिङकट्टीलगायत अधिकांश गाविसमा भूकम्पका कारणले ठूलो जनधनको क्षति भएको छ । “राहत कहिले आउँछ भन्ने प्रतिक्षामा बसेका छौँ¬¬”–प्रजिअ ज्ञवालीले भन्नुभयो ।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत शनिबार गएको विनासकारी भूकम्पका कारण यहाँ हालसम्म ३७३ जनाको मृत्यु भएको छ । घाइतेलाई छवटा हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेपनि मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको छ । जिल्लाको लाप्राक, गुम्दा, काँसीगाउँ, केरौजा, लापु, उहियाँ, सिर्दिवासलगायत उत्तरी गाविस भूकम्पबाट बढी प्रभावित भएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा १०२ जनाको शव भेटिएको छ भने ९६ जना घाइतेको पोखराको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उत्तरी क्षेत्रमा भूकम्पले पानीको स्रोतहरु दबिएकाले ठाउँठाउँमा पानी आपूर्तिमा समस्या आएको छ । यसैगरी मनासलु पदमार्गमा रहेका विदेशी पर्यटक हराइरहेका छन् । ६ विदेशीको शव लापु गाविसको भीरमा भेटिएको छ । राहत वितरणमा कठिनाइ भएको बताइएको छ ।