‘संविधान खोई ?, संविधान चाहियो’ भन्दै नागरिक धर्ना

लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा नागरिक अगुवाहरूले ‘संविधान खोई ?, संविधान चाहियो’ भन्दै नागरिक धर्ना दिएका छन् । कार्यक्रममा राजनीतिज्ञ, पूर्वप्रशासक, अधिकारकर्मी, नागरिक समाजलगायतले लोकतान्त्रिक संविधानको माग गर्दै संविधान नआउन्जेलसम्म आफूहरूले निरन्तर खवरदारी गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका थिए । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गाना, नेपाल प्राद्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायलगायतले दलहरू चुके नेतृत्व असफल हुने र त्यसले लोकतन्त्रमाथिनै अविश्वास पैदा गर्ने भन्दै दललाई सचेत भएर संविधान निर्माणमा लाग्न सुझाव दिनुभयो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकवर्षभित्रमा संविधान आउने विश्वास व्यक्त गर्दै यो वर्षभित्र पनि संविधान जारी गर्न नसके मुलुकमा लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न चुनौती थपिने बताउनुभयो । उहाँले दलहरूलाई सहमतिको लागि दवाव दिन यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल, अधिकारकर्मीहरु डा सुन्दरमणि दीक्षित, सुदिप पाठक, चरण प्रसाई, खेमराज रेग्मीलगायतको सहभागिता थियो ।