विद्यार्थी संगठनलाई जिस्क्याएको हो भने आन्दोलनको आँधी सिर्जना गर्ने चेतावनी

संयुक्त विद्यार्थी सङ्गठनको बसेको बैठकले निजी विद्यालयमा शुल्कवृद्धि फिर्ता लिन सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । गत सातादेखि संयुक्त आन्दोलन गरेपछि निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न यही वैशाख ६ गते शिक्षा मन्त्रालयसँग भएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने नत्र आन्दोलनमा उत्रिने बैठकले निर्णय गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुका प्रवक्ता आरसी लामिछाने जानकारी दिनुभयो । यसअघि विद्यालयहरुले यस्तो सहमति मान्न नसकिने बताएपछि के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच भएको सहमतिमा तत्कालका लागि शुल्कवृद्धि स्थगन तथा फिर्ता गर्ने र त्यसको पुनरावलोकन एवम् अनुगमन गर्न एक प्राविधिक समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्ने सहमति भएको थियो । सहभागी एक विद्यार्थी नेताले भने, यदि हामीलाई अल्मल्याउन खोजिएको हो र सरकारसँग भएको सहमति नमान्ने हो भने हामी आन्दोलनको आँधी ल्याउन सक्छौं । यस्तै अर्को एक प्रसंगमा नेपाल विद्यार्थी सङ्गठनका प्रवक्ता युपी लामिछाने, अनेरास्ववियु–क्रान्तिकारीका अध्यक्ष रमेश मल्ललगायत विद्यार्थी सङ्गठले बैठकमा सर्वोच्च अदालतले मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तीन महिनाभित्र गराउनका लागि त्रिभुवन विश्वविद्यालयलाई आदेश दिएकोप्रति सम्पूर्ण विद्यार्थी सङ्गठनले स्वागत गरेको प्रवक्ता लामिछाने बताउनुभयो ।