‘प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध’

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालसँग नेपालको अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा प्रवद्र्धनका लागि नेपाल आएको अन्तर्राष्ट्रिय टोलीले भेटवार्ता गरेको छ । एक साता नेपालमा रहने सो टोलीले राजनीतिक नेतृत्व, राष्ट्रिय मानवअधिकार आयोग र सरोकारभएका पक्षसँग छलफल गर्ने क्रममा आज सञ्चार मन्त्रालयमा मन्त्री डा रिजालसँग भेटवार्ता गरेको हो । भेटका अवसरमा मन्त्री डा रिजालले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहनाका साथै नेपालको अन्तरिम संविधानले पनि प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको जानकारी गराउनुभयो । मन्त्री डा रिजालले मुलुकमा नयाँ नयाँ प्रकृतिका आमसञ्चार माध्यमको प्रवेशसँगै सञ्चारमाध्यमलाई अझ सशक्त, व्यवस्थित र मर्यादित बनाउन छिट्टै नयाँ आमसञ्चार नीति ल्याउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । भेटका अवसरमा मिसनका प्रतिनिधिले भ्रमणमा दौरानमा नेपालका सञ्चार क्षेत्रका बारेमा देखेभोगेका अनुभवका बारेमा चर्चा गरेको थिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्वतन्त्र प्रेस र पत्रकार सुरक्षाका बारेमा भएका भेटघाटका बारेमा जानकरी गराउनुभएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा सत्ता लिएका बेला (विसं २०५८) मा नेपालको प्रेस स्वतन्त्रता सङ्कटमा रहेका बेला आउन थालेको अन्तर्राष्ट्रि टोली नियमित नेपाल आउन थालेको छ । टोलीमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका १८ प्रतिनिधि सहभागी छन् ।