चितवनमा दुई नयाँ जातिको चरा भेटियो, फुस्रे भुँई रविन नामक चरा पनि फेला

गृष्मऋतुमा बसाइँ सरेर बच्चा कोरल्ने चराको अवस्था पत्ता लगाउन यहाँ थालिएको चराको गुण गणना कार्य सकिएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनको अगुवाइमा विभिन्न सङ्घसंस्थाको सहभागितामा यहाँ गएको हप्तादेखि गुण गणना थालिएको थियो । गणनाका क्रममा चितवन निकुञ्ज आसपासमा २५० प्रजातिका चराको गुण फेला परेको सोसाइटीका अध्यक्ष बासु बिडारीले आज जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्षभन्दा अहिले चराको गुणमा उल्लेख्य वृद्धि भएको पाइएको छ । गणनाका क्रममा चितवन निकुञ्जभित्र यसपालि नयाँ चरासमेत भेटिएको उहाँले बताउनुभयो । दुर्लभ मानिने फुस्रे भूँइ रविन नामको नयाँ चरा चितवनमा फेला परेको चराविज्ञ टीका गिरीले बताउनुभयो । चितवनमा यो गुण गणनाका बेलामा योसहित दुईवटा नयाँ चरा फेला परेको छ । केही दिनअघि चितवनको सौराहामा १० वर्षदेखि नदेखिएको विश्वमै दुर्लभ मानिएको नयाँ चरा कास्मिर फ्लाइक्याचर (कास्मिर अर्जुनक) नामको चरा फेला परेको थियो । योसँगै चितवनमा चराको सङ्ख्या ६२८ प्रजाति पुगेको छ । सुरुमा रोयल पार्क होटलमा सुकराम महतोले अर्जुनक चरा देख्नुभएको थियो । त्यसपछि सोसाइटीका प्रतिनिधि वासु बिडारी, टीका गिरी, टेकबहादुर गुरुङ, रमेश चौधरीको अनुसन्धानपछि चराको पुष्टि भएको थियो । अहिलेको समयमा प्रायः बाहिरबाट निकुञ्जमा बच्चा कोरल्न चराहरू आउने गर्दछन् । वर्ड एजुकेसन सोसाइटी र चितवन निकुञ्जले गणना सुरु गरेको हो । यसका लागि १२ जना चराविज्ञ खटिएका थिए । नेपालमा ७५ प्रजातिका चरामध्ये चितवनमा ६२ प्रजातिका पुगेको छ भने चितवन निकुञ्जमा मात्रै ५७६ प्रजातिका चरा छन् ।