जाजरकोटमा थप तीनको मृत्यु, मृत्यु हुनेको सङ्ख्या २१, वीर अस्पतालबाट गयो टिम


Rss_Images_1429192291315_HK-Jajarkot- biramiजाजरकोटमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस–२ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का दुई वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा मृत्यु भएको छ ।
यसो भन्छ इपिडिमियोलोजी महाशाखा
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी महाशाखाले विगत दुई हप्तादेखि जाजरकोट जिल्लाको विभिन्न स्थानहरुमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षणहरुसहित फैलिएको प्रकोपको नियन्त्रण तथा व्यवस्थापन कार्यमा हालसम्म भएगरिएका कार्यको जानकारी दिएको छ । महाशाखाद्वारा प्रकाशित विज्ञप्तिअनुसार वीर अस्पतालको चिकित्सक टोली आवश्यक औषधि उपकरणसमेत लिई जाजरकोट जिल्लामा पुगिसकेको, जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट प्रकोप नियन्त्रण तथा व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने थप औषधि तथा उपकरण माग भइआएको र तत्कालै माग भए बमोजिमको औषधि तथा उपकरण पठाउने व्यवस्था गरिएको, क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जमार्फत जाजरकोट एवम् मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्लामा इन्फ्लुएन्जा उपचारको लागि ५००० चक्की टमी–फ्लु नाम गरेको औषधि र स्वास्थ्य शिक्षा सामग्री पठाउने व्यवस्था गरिएको, प्रकोपग्रस्त क्षेत्रमा हालसम्म जम्मा १९ जना व्यक्तिको मृत्युभएकोमा दुई जनाको मृत्युभएको कारण पुष्टि हुन बाँकी रहेको जनाइएको छ । महाशाखाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकोप नियन्त्रण व्यवस्थापन कार्यको लागि थप बजेट व्यवस्थापनको लागि अनुरोध गरी पठाइएको पनि जनाइएको छ । वैशाख ३ गतेका दिन जाजरकोट जिल्लाका प्रकोपग्रस्त गाविसमा चिकित्सा टोलीले उपचार सेवा प्रदान गरेका बिरामीहरु अर्छानी, पैक, सकला, पजारु, टालेगाउँ, नायकवाडामा वैशाख २ सम्म २,४९८ जना भएको र ती गाविसमा वैशाख ३ मा मात्र १७५ जना विरामी थपिएको पनि महाशाखाले जनाएको छ ।
दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहँुदा कठिनाइ
जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ । दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूर्ति भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । मेडिकल अधिकृत दुई जनाको दरबन्दी खाली रहेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत एक जना खाली रहनुका साथै हाल निर्मितको भरमा काम चलिरहेको छ । सिनियर अहेब नौ जनाको दरबन्दी रिक्त रहेको छ । त्यस्तै चार जना अहेबको दरबन्दी खाली रहेको छ । चार जना स्टाफ नर्सको पद खाली रहेको छ । त्यस्तै एक जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा स्वीकृत १२ जनाको दरबन्दीमध्ये अहिले जम्मा पाँच जनाको पदपूर्ति भएको छ भने सात जना रिक्त रहेको छ । यहाँ मेडिकल अधिकृतदेखि स्टाफ नर्स, अहेबसम्म खाली रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ११ जनाको दरबन्दी रहे तापनि अहिले छ जनाको पदपूर्ति भएको तथ्याङ्कमा देखिन्छ भने पाँच जनाको दरबन्दी रिक्त छ । यहाँ पनि मेडिकल अधिकृतको दरबन्दीदेखि अहेबसम्मको दरबन्दी खाली रहेको छ । स्वास्थ्य चौकी टालेगाउँमा छ जनाको दरबन्दी सूचीमा देखिन्छ भने अहिले कार्यालयमा तीन जनाले काम सञ्चालन भइरहेको छ । यहाँ पनि सिनियर अहेब खाली रहेको छ । यो अहिले सिजिनल फ्लुबाट प्रभावित क्षेत्र हो । यस्तै जिल्लाका अधिकांश ग्रामीणस्तरमा रहेका स्वास्थ्य केन्द्रमा दरबन्दी देखाए पनि काममा नखटी काजमा अर्कै ठाउँमा काम गरिरहेको देखिन्छ । अहिलेसम्म रोग प्रभावित क्षेत्रमा सयौँ बिरामीको उपचार गरिएको बताएको छ । जिल्लाको पँैकमा एक हजार २००, सक्लामा १७८, पजारुमा ४२१, नायकवाडामा १०० र अर्छानी र टालेगाउँमा स्वास्थ्यकर्मी भर्खर परिचालन भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]