हर्षोल्लासका साथ मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????मध्यपुरथिमि क्षेत्रका बासिन्दाले आज हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा अतिप्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । बालकुमारी प्राङ्गणमा नगदेश, बोडे र तिगनीबाट गरी ३२ वटा खटको सहभागी गराई परम्परागत रुपमा सिन्दुरजात्रा मनाउँदै आएको भएपनि केही वर्षदेखि विविध कारणले बालकुमारी, कालिका (वालाखु द्यः), दक्षिणबाराही (क्वाछेँ द्यः), हरिसिद्धि (हिच्वः द्यः), अजिमा विष्णुवीर, प्रथम गणेश (पर्सिक्व गणे द्यः), गुरु गणेश, अष्ट विनायक (भादे इनाय्), थास्मा गणेश, गाता गणेश, नारायण, चोडे गणेश, क्वसि गणेश, चपाचो गणेश, राज गणेश (इनालाछि गणेद्यः), दिगु गणेश, गांचाननि गणेश, शिवाः गणेशलगायत १८ वटा खटको मात्र जात्रा हुने गरेको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ । देवता लाय्कू (दरबार)भित्र पस्न नपाऊन भनेर लाय्कू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गण बाटो छेकेर बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र विभिन्न पेय पदार्थ पिउँदै नेवारी बाजाको तालसँगै नाच्दै रमाउँदै मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्न विभिन्न ठाउँबाट दर्शकको घुइँचो लाग्ने गर्दछ भने विदेशी पर्यटकसमेतको उल्लेख्य सहभागिता रहन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]