नर्वेका राज्यमन्त्रीको भेटघाट जारी, नेपाललाई सघाउन सदैव तत्पर

प्रधानमन्त्री सुशील कोइरालासँग नर्वेको विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री कोइराला र राज्यमन्त्री हगलन्डबीच नेपाल र नर्वेबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय विकास सहयोगबारे छलफल भएको थियो । भेटमा वैकल्पिक ऊर्जा, जलविद्युत्, शिक्षा र सुशासनका क्षेत्रमा नर्वेले प्रदान गर्दै आएको सहयोगका बारेमा कुराकानी भएको भेटपछि राज्यमन्त्री हगलन्डले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री कोइरालाले नर्वेले नेपाललाई पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो । नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । दुईदिने औपचारिक भ्रमणमा नेपाल आउनुभएका राज्यमन्त्री हगलन्डले भ्रमणका अर्थमन्त्री डा रामशरण महत र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसी (खड्का) सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नु हुनेछ ।
जलविद्युत् विकासमा सघाउने
नर्वेले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने चाहना व्यक्त गरेको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो चाहना व्यक्त गर्नुभएको हो । आफूसँगको भेटमा नर्वेले नेपालको लोकतन्त्र, सुशासन प्रवद्र्धन, शिक्षा र विकासका निम्ति विशेष चासो राखेको मन्त्री पाण्डेले राससलाई जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा आफ्नो मुलुकले उम्मेदवारी दिन लागेको जानकारी गराउँदै त्यसमा नेपालको सहयोग र समर्थन आफूले अपेक्षा गरेको राज्यमन्त्री हगलन्डले बताउनुभएको मन्त्री पाण्डेले बताउनुभयो । नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार आधारभूत प्राथमिक शिक्षा, जलविद्युत्, ऊर्जा, मानवअधिकार, विकेन्द्रीकरण, शान्ति स्थापना, सुशासन, निजी क्षेत्रको विकासमा केन्द्रित रहेर नर्वेले सहयोग गर्दै आएको छ । नर्वेली सहयोग ग्रामीण विद्युतीकरणमा पनि उल्लेख्यरुपमा उपयोग भएको छ । नर्वेली अन्तर्राष्ट्रिय सहयोग नियोग (नोराड) मार्फत पनि नर्वेले नेपालको विकास प्रयासमा सघाउँदै आएको छ । नोराडले दक्ष जनशक्ति उत्पादनका निम्ति विभिन्न समयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । शान्ति कोषमा नर्वेले तीन करोडभन्दा बढी नर्वेजियन क्रोनर उपलब्ध गराएको छ । भेटमा नेपालका लागि नर्वेका राजदूत चेल टोर्मोड पिटरसेन र यहाँस्थित नर्वेली दूतावासका उच्च अधिकारीहरुको उपस्थितति रहेको थियो ।