सभामुखको च्याम्बरमा शीर्ष बैठक, केही दिनमा सहमति हुनसक्ने प्रचण्डको भनाई


suvasएकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संविधान लेखनमा देखिएका विवादमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘‘हामीले सहमतिको आधारमा नै संविधान लेखनको काम अगाडि बढोस् भनेर आमहड्ताललगायतका कार्यक्रम स्थगित ग¥यौ तर सत्तारुढ दलमा अझै जिम्मेवारीवोधको अभाव देखिएको छ ।’’ यसबीचमा भएका अनौपचारिक सम्वादले विवादित विषयलाई साँघुरो बनाउन बल पुगेको उल्लेख गर्दै उहाँले निरन्तर सम्वाद जारी राख्न र त्यसको नेतृत्व लिन आफूले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गरेको जानकारी दिनुभयो । संविधानसभाको अर्को बैठकको मिति आगामी वैशाख ६ गतेसम्म केही न केही निकास निकाल्नुपर्ने पक्षमा आफू रहेको उहाँको कथन थियो । प्रमुख राजनीतिक दलको बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष दाहालले अरु विषयमा सहमति भएपनि राज्य पुनः संरचना र निर्वाचन प्रणालीका विषयमा सबै पक्षलाई नमनाइकन गरिने सहमति दिगो नहुने बताउनुभयो । विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन हुनुपर्ने र त्यसका आधारमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । बाह्यभन्दा आन्तरिक कारणले नै सहमतिमा भाँजो हालिरहेको उहाँको सङ्केत थियो । सहमति निर्माणका लागि आफूले एकपटक पुनः जोखिम मोल्ने उल्लेख गर्दै अध्यक्ष दाहालले आमहड्तालकको स्थगन त्यसैको एउटा उदाहरण हो भन्नुभयो ।
सहमति जुट्छ
संविधानका विवादित विषयमा सहमति जुटाउने उद्देश्यका साथ संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्नुभएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग उहाँले आगामी वैशाख ६ गतेभित्र विवादित विषयमा सहमति जुटाउन ध्यानाकर्षषण गराउनुभएको हो । संविधानसभा भवन नयाँ बानेश्वरमा भएको छलफलमा उहाँले विषयवस्तु केन्द्रित भएर वार्तामा बस्न आग्रह गर्नुभएको थियो । सभाध्यक्षको आग्रहबमोजिम आगामी वैशाख ६ गतेभित्र सहमति गर्ने विश्वास प्रमुख दलका शीर्ष नेताले दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विषयवस्तुमा केन्द्रित भएर छलफल गर्न सभाध्यक्षले आग्रह गर्नुभएको जानकारी दिनुभयो । उहाँले द्विपक्षीय, बहुपक्षीय तथा सर्वपक्षीय सम्वादको माध्यमबाट विवादित विषयमा सहमति गर्ने र सहमतिका आधारमा संविधान जारी गर्ने वातावरण मिलाउन नै आजको आवश्यकता रहेको महसुस समेत बैठकले गराएको बताउनुभयो । नेकपा(एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सकेसम्म सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिइएको बताउनुभयो । ‘‘संविधानका विवादित विषयमा सैद्धान्तिक छलफल भएन, तर कसरी अगाडि बढ्ने र विवादित विषयमा कुन विधिबाट सहमति खोज्ने भन्ने सन्दर्भमा सम्वाद महत्वपूर्ण रह्यो’’ उपाध्यक्ष रावलले भन्नुभयो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने वैशाख ६ गतेसम्म सहमति जुटाउने बचन प्रमुख तीन ठूला दलका नेताले सभाध्यक्षलाई दिएको बताउनुभयो ।
ओलीलाई जानकारी भएन १
बैठकबारे आफूलाई जानकारी नभएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व निर्धारित कार्यक्रमअन्तर्गत धरहरा चढ्ने काममा सहभागी हुनुभएको थियो । एकीकृत नेकपा(माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सभाध्यक्षले बोलाउनुभएको बैठकमा ओली नै उपस्थित नहुनुले आशङ्का जन्माएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा रहेको तीस दलीय मोर्चाले आन्दोलनको कार्यक्रम स्थगित गरिसकेको अवस्थामा जिम्मेवार भएर सत्तारुढ दलका नेता आउनुपर्ने बताउनुभयो । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, काँग्रेस उपसभापति पौडेल, एमालेका उपाध्यक्ष रावल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, राप्रपा नेपालका अध्यक्ष थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत नेताको सहभागिता थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]